जनता टाइम्स

१ पुष २०७६, मंगलवार १५:४३

कोइला खानीमा विस्फोट, १४ जनाको मृत्यु


बेइजिङ, पुस १

चीनको दक्षिणपश्चिमी भागमा रहेको कुइचोउ प्रान्तअन्तर्गत पर्ने अन्लोङको कुअङलोङ क्षेत्रमा रहेको एउटा कोइला खानीमा मङ्गलबार भएको विस्फोटनमा परी १४ जनाको मृत्यु भएको छ । खानीमा रहेको ग्यास विस्फोटनपछि उक्त घटना भएको जनाइएको छ । अन्य दुई जना अझै खानी भित्रै च्यापिएको अधिकारीहरुले जनाएका छन् ।

मङ्गलबार बिहानको समयमा भएको यस विस्फोटमा च्यापिएका ती दुई व्यक्तिको खोजी भइरहेको स्थानीय अधिकारीहरुको जनाएका छन् । घटनास्थलबाट अरु ७ जनालाई भने जिवितै उद्धार गरिएको छ । चीनको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने सिचुआन प्रान्तमा रहेको अर्को एउटा खानीमा बाढीका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको र तेह्र जना खानी भित्रै च्यापिएको भोलीपल्ट यो घटना भएको हो ।

बाढी आएका बेला सो खानीमा ३ सय ४७ जनाले काम गरिरहेका थिए । चीनमा यस्ता विस्फोटनका घटना निरन्तर हुदै आएका छन् । पर्याप्त र उचित सुरक्षाको व्यवस्था नगरिएकाले विस्फोटनका घटना हुने र मानिसहरुको मृत्यु हुनेगरेको छ । गत महिना सान्छीमा रहेको खानीमा भएको विस्फोटनमा परी कम्तीमा १५ जनाको मृत्यु भएको थियो ।