जनता टाइम्स

२५ जेष्ठ २०८३, सोमबार १३:५३

सदनमा एमालेले भन्यो : संकल्प प्रस्ताव पारित गरौँ, प्रधानमन्त्रीलाई त्रुटिपूर्ण अभिव्यक्तिमा भूलसुधार गराऔँ


काठमाडौं, जेठ २५ । नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले प्रधानमन्त्रीले पदीय मर्यादा र देशको स्वाभिमानविरुद्ध दिएको अभिव्यक्तिमा भूलसुधार गरेर अघि बढ्ने प्रस्ताव राख्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा अर्यालले प्रधानमन्त्रीले सदनमा आएर क्षमा याचना गर्ने र सदनले एउटा संकल्प प्रस्ताव पारित गरेर अघि बढ्ने प्रस्ताव राख्नुभएको हो । ‘एउटा संकल्प प्रस्ताव पारित गरौँ, प्रधानमन्त्रीलाई आफ्नो त्रुटिपूर्ण अभिव्यक्तिमा यही सदनमा आएर भूलसुधार गराऔँ,’ उपनेता अर्यालले भन्नुभयो, ‘राष्ट्रियताको विषयमा सदन विभाजित हुन हुँदैन । सबैको साझा धारणा बन्ने गरी संकल्प प्रस्ताव पारित गरेर यो विषय टुंग्याउँदै अघि बढौँ ।’

एमाले सचिवसमेत रहनुभएकी उपनेता अर्यालले प्रधानमन्त्रीको अभिव्यक्ति कूटनीतिक मर्यादा र पदीय जिम्मेवारी दुबैसँग मेल नखआएको बताउनु भयो । ‘हामीले प्रधानमन्त्रीले कूटनीतिक मर्यादा र पदीय जिम्मेवारी विपरीत सदनमा दिएको राष्ट्रिय अखण्डता र स्वाधीनताविरुद्धको अभिव्यक्ति तत्काल सच्याइयोस् भनेर पटक–पटक ध्यानाकर्षण गरेका हौँ,’ अर्यालको भनाई थियो ।

उहाँले राष्ट्रियताका विषयको बहमा भाग लिँदै गर्दा ०७७ जेठ १३ गतेलाई स्मरणसमेत गर्नुभयो । नेपालको चुच्चे नक्सा जारी भएको त्यस दिन भूमि व्यवस्थामन्त्रीका रूपमा अर्यालले नै राखेका प्रास्तावमा प्रतिनिधिसभाको सर्वसम्मतिबाट लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको ‘चुच्चे नक्सा’समेटेर संविधान संशोधन भएको थियो । नक्सा बनाउने कामको नेतृत्व पनि तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट अर्यालले नै गर्नुभएको थियो ।

‘आज हामी यसरी छलफल गर्दैगर्दा ०७७ जेठ १३ को याद आइरहेको छ । त्यसवेला पनि सत्तापक्ष र प्रसितपक्ष थियौँ । हाम्रा विचारहरू अलग–अलग थिए । तर, अतिक्रमित भूमि फिर्ता गरेर चुच्चे नक्सा बनाउँदा सर्वसम्मत भएका थियौँ । यो मुलुकमा जनताको प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरूको साझा मुद्दा बनाउँदै संविधानको अनुसूची बदलेर जनजिब्रोमा प्रचलित ‘चुच्चे नक्सा’ प्रयोगमा छ । लिपुलेक, लिम्पियाधुरा कालापानी नेपालको अभिन्न अंग हो । त्यो फिर्ता ल्याउनुपर्छ,’ प्रतिनिधि सभा बैठकमा अर्यालले भन्नुभयो ।

उहाँले प्रधानमन्त्रीले विपक्षीको आग्रहलाई कमजोरीका रूपमा हेर्नु उपयुक्त नहुने भन्दै प्रधानमन्त्रीले सदनमा उभिएर माफी नमाग्दासम्म संसद् नचल्ने प्रस्ट पार्नुभयो । अर्यालले देशको सवालमा खेलाची हुने काम कँही कतैबाट हुन नहुनेमा पनि जोड दिनुभएको छ ।