काठमाडौं, जेठ २५ । नेकपा एमालेले लुम्बिनी प्रदेश सभामा आफ्नो संसदीय दलको नेतृत्व संरचनामा हेरफेर गर्दै रोल्पाकी यमुना रोका तामाङलाई प्रमुख सचेतक तथा कपिलबस्तुका नवराज लामिछानेलाई सचेतक नियुक्त गरेको छ।
प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको विधानअनुसार उक्त नियुक्ति गर्नुभएको हो। दुवै नियुक्ति २०८३ जेठ २५ गतेदेखि लागू हुने गरी गरिएको जानकारी दिनुभयो।
यसअघि प्रमुख सचेतकको जिम्मेवारी रुपन्देहीका तुलसीप्रसाद चौधरीले सम्हाल्दै आउनुभएको थियो भने सचेतकको भूमिकामा यमुना रोका मगर रहनुभएको थियो। प्रमुख सचेतक रहनुभएका चौधरीले सोमबार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीको पद तथा गोपनीयताको सपथ ग्रहण गरेपछि उक्त पद रिक्त भएको थियो। त्यसपछि सचेतक रहेकी रोका मगरलाई प्रमुख सचेतकमा पदोन्नति गरिएको हो। रोका मगर प्रमुख सचेतकमा नियुक्त भएसँगै रिक्त रहेको सचेतक पदमा नवराज लामिछानेलाई जिम्मेवारी दिइएको एमाले संसदीय दलले जनाएको छ।
नवनियुक्त प्रमुख सचेतक र सचेतकलाई प्रदेश सभामा दलका नीति, कार्यक्रम तथा निर्णयहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने, संसदीय गतिविधिहरूको समन्वय गर्ने तथा दलभित्र अनुशासन कायम राख्ने महत्वपूर्ण जिम्मेवारी प्रदान गरिएको छ।
प्रदेश सरकारको नेतृत्व गरिरहेको एमालेले संसदीय गतिविधिलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन नेतृत्व तहमा जिम्मेवारी हेरफेर गरेकाे जनाएकाे छ । नयाँ जिम्मेवारीसँगै दुवै नेताबाट प्रदेश सभामा दलको भूमिका थप सशक्त बनाउने अपेक्षा गरिएको छ।













प्रतिक्रिया दिनुहोस्