जनता टाइम्स

२५ जेष्ठ २०८३, सोमबार १८:४८

प्रधानमन्त्रीले सीमा सम्बन्धी अभिव्यक्ति सच्याउनुपर्छ, नत्र सदन चल्दैन : हर्क साम्पाङ


काठमाडौं, जेठ २५  । श्रम संस्कृति पार्टीका प्रतिनिधि सभामा संसदीय दलका नेता हर्क साम्पाङले नेपालको सीमा र भूगोल राष्ट्रिय अस्तित्वसँग जोडिएको संवेदनशील विषय भएकाले प्रधानमन्त्रीले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्ति सच्याउनुपर्ने माग गर्नुभएको छ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै साम्पाङले देशको सीमा पहिलो र प्रधान विषय भएको उल्लेख गर्दै प्रधानमन्त्रीले संसदको रोष्ट्रमबाट व्यक्त गर्नुभएको धारणा तथ्यका आधारमा पुष्टि गर्नुपर्ने वा सार्वजनिक रूपमा सच्याउनुपर्ने बताउनुभयो। ‘नेपालले कहाँ–कहाँ भारतकाे सीमा मिचेको छ भन्ने कुरा उहाँले यहाँ आएर पुष्टि गर्नुपर्छ, अन्यथा अभिव्यक्ति सच्याउनु पर्छ’ उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले आफ्नो भनाइ सच्याउनु भएन भने सदन चल्न सक्दैन।’

साम्पाङले राष्ट्रिय हित र सार्वभौमिकताका विषयमा भावनात्मक भन्दा तथ्यपरक दृष्टिकोण आवश्यक रहेको धारणा राख्नुभयो। देश सञ्चालनका लागि भूगोल र सीमाको संरक्षण पहिलो शर्त भएको उल्लेख गर्दै उहाँले सीमा सम्बन्धी विषयलाई हल्का रूपमा लिन नहुने बताउनुभयो।

उहाँले नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन नेपाली सेनालाई सीमाक्षेत्रमा तैनाथ गर्नुपर्ने माग पनि गर्नुभयो। ‘नेपाली सेनालाई राख्नुपर्ने मुख्य ठाउँ सीमा हो, तर अन्यत्र प्रयोग गरिएको छ,’ उहाँले भन्नुभयो।

साम्पाङले प्रधानमन्त्रीको अभिव्यक्तिको विषयमा अन्य मन्त्री वा सरकारी प्रतिनिधिले स्पष्टीकरण दिएर नहुने जिकिर गर्दै प्रधानमन्त्री स्वयंले आफ्नो भनाइ सच्याउनुपर्ने बताउनुभयो। ‘प्रधानमन्त्रीको कुरा अरू मन्त्रीले सच्याएर हुँदैन, उहाँकै मुखबाट सच्यिनुपर्छ,’ उहाँले भन्नुभयो।

प्रतिनिधिसभामा बोल्ने क्रममा साम्पाङले सीमा, राष्ट्रिय सुरक्षा र सार्वभौमिकताका विषयमा सरकार गम्भीर बन्नुपर्नेमा जोड दिँदै संसदमार्फत स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गर्नुभयो।