काठमाडौं, जेठ २५ । नेकपाका सांसद तथा पूर्वमन्त्री वर्षमान पुनले प्रधानमन्त्रीले सीमा सम्बन्धी विषयमा व्यक्त गर्नुभएको धारणाप्रति सम्पूर्ण प्रतिपक्ष असहमत रहेको बताउँदै त्यसबारे संसदमा उपस्थित भएर स्पष्ट जवाफ दिनुपर्ने धारणा राख्नुभएको छ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै पुनले प्रधानमन्त्रीको अभिव्यक्तिले राजनीतिक विवाद सिर्जना गरेको उल्लेख गर्दै प्रतिपक्षी दलहरूले त्यस विषयमा प्रधानमन्त्रीबाटै स्पष्टीकरण चाहेको बताउनुभयो। ‘प्रधानमन्त्रीले सीमा सम्बन्धी विषयमा राख्नुभएको धारणाप्रति सम्पूर्ण प्रतिपक्ष असहमत छ,’ उहाँले भन्नुभयो, ‘यस विषयमा उहाँको धारणा के हो भन्ने कुरा सदनमा आएर स्पष्ट रूपमा जवाफ दिनुपर्छ, हामीले प्रधानमन्त्रीलाई शंकाको लाभ भने दिएकै छौँ।’
उहाँले संसद अवरोधको अवस्थाबीच विभिन्न राजनीतिक दलहरूबीच संवादको वातावरण बनेको भन्दै त्यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताउनुभयो। विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले सर्वदलीय बैठकको प्रस्ताव राख्नु सकारात्मक सन्देश भएको उहाँको भनाइ थियो। ‘बीचमा गतिरोध थियो, तर आज रास्वपाका सभापतिले राख्नुभएको सर्वदलीय बैठकले सकारात्मक सन्देश दिएको छ,’ पुनले भन्नुभयो।
पुनले संसद नियमित रूपमा सञ्चालन हुनुपर्नेमा प्रतिपक्ष स्पष्ट रहेको पनि बताउनुभयो। संसद अवरुद्ध गर्नु प्रतिपक्षको उद्देश्य नभएको उल्लेख गर्दै उहाँले प्रतिपक्षले उठाएका विषयमा सरकारले उचित जवाफ दिनुपर्ने धारणा व्यक्त गर्नुभयो। ‘संसद नियमित चल्नुपर्छ भन्नेमा हामी स्पष्ट छौँ,’ उहाँले भन्नुभयो, ‘प्रतिपक्षीले उठाएका मुद्दाको जवाफ प्रधानमन्त्रीबाट आओस्। यसका लागि विभिन्न विकल्पहरू आएका छन्, त्यसबारे छलफलको वातावरण बनोस्।’
उहाँले संवाद र सहमतिका माध्यमबाट संसदको गतिरोध अन्त्य गरी नियमित संसदीय प्रक्रिया अगाडि बढाउन सबै दलहरू जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो।













प्रतिक्रिया दिनुहोस्