काठमाडौं, जेठ २५ । श्रम संस्कृति पार्टी संसदीय दलका नेता हर्क साम्पाङले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग जोडिएको भनिएको ‘बीवाईडी काण्ड’को छानबिन टुंगो नलागुञ्जेल राजीनामा दिनुपर्ने धारणा राख्नुभएको छ।
सोमबार आफ्नो धारणा सार्वजनिक गर्दै साम्पाङले विवादित विषयमा निष्पक्ष अनुसन्धान सुनिश्चित गर्न अर्थमन्त्रीले नैतिक जिम्मेवारीका आधारमा पदबाट अलग हुनु उपयुक्त हुने बताउनुभयो। ‘अर्थमन्त्रीको बीवाईडी काण्ड टुंगो नलागुञ्जेल उहाँले राजीनामा दिए राम्रो हुन्छ,’ साम्पाङले भन्नुभयो।
पछिल्लो समय प्रतिनिधिसभा र सार्वजनिक वृत्तमा ‘बीवाईडी काण्ड’लाई लिएर व्यापक बहस भइरहेको छ। विपक्षी दलहरूले विद्युतीय सवारीसाधनसँग सम्बन्धित कर तथा भन्सार नीतिमा गरिएको परिवर्तनले चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी BYD को नेपालस्थित आधिकारिक बिक्रेतालाई फाइदा पुग्ने गरी निर्णय गरिएको आरोप लगाउँदै आएका छन्।
सरकारले भने बजेट तथा करसम्बन्धी निर्णयहरू समग्र आर्थिक नीति, राजस्व व्यवस्थापन र विद्युतीय सवारी प्रवर्द्धनको उद्देश्यअनुसार गरिएको बताउँदै आएको छ। यद्यपि विपक्षी दलहरूले यस विषयमा थप छानबिन र स्पष्ट जवाफको माग गर्दै आएका छन्।
साम्पाङले सार्वजनिक पदमा रहेका व्यक्तिमाथि गम्भीर प्रश्न उठेका बेला अनुसन्धान प्रक्रियामाथि विश्वास कायम राख्न सम्बन्धित पदाधिकारीले जिम्मेवारीपूर्ण व्यवहार देखाउनुपर्ने बताउनुभयो। उहाँले विवादको सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष छानबिन आवश्यक रहेको उल्लेख गर्दै छानबिन सम्पन्न नभएसम्म अर्थमन्त्रीले पदमा बसिरहनु उपयुक्त नहुने धारणा व्यक्त गर्नुभयो।
बीवाईडीसँग सम्बन्धित विवादबारे सरकारले हालसम्म कुनै अनियमितता भएको स्वीकार गरेको छैन भने अर्थमन्त्री वाग्लेले पनि आफूमाथि लगाइएका आरोपहरूको खण्डन गर्दै आउनुभएको छ। यद्यपि विषय संसद र सार्वजनिक बहसको केन्द्रमा रहेकाले यसबारे राजनीतिक दबाब भने कायम रहेको छ।













प्रतिक्रिया दिनुहोस्