काठमाडौं, जेठ २६ । देशका विभिन्न जिल्लामा फैलिएको बर्डफ्लु नियन्त्रण गर्न सरकारले आकस्मिक अभियान सञ्चालन गरेको छ। रोग प्रभावित क्षेत्रमा सङ्क्रमण नियन्त्रण गर्न र अन्यत्र फैलिन नदिन पशुसेवा विभागको नेतृत्वमा द्रुत कार्य टोली परिचालन गरिएको छ।
पशुसेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार हालसम्म बर्डफ्लु पुष्टि भएका १० जिल्लाका ७२ वटा फार्ममा रहेका करिब ५ लाख १५ हजार पन्छी नष्ट गरिएको छ। प्रभावितमध्ये लेयर्स कुखुरा र स्थानीय जातका कुखुरा सबैभन्दा बढी प्रभावित भएका छन्।
सरकारको निर्देशनअनुसार खटिएको टोलीले हालसम्म ७ लाख अण्डा र १८३ टन पशु दाना समेत नष्ट गरेको जनाएको छ। रोगको सङ्क्रमण फैलिन नदिन प्रभावित क्षेत्रका सम्पूर्ण पन्छीजन्य उत्पादन नष्ट गर्नुपरेको विभागको भनाइ छ।
महानिर्देशक दाहालका अनुसार केही साताअघि झापा, मोरङ र सुनसरीमा देखिएको बर्डफ्लु महोत्तरी, बारा, चितवन हुँदै काठमाडौं, भक्तपुर, ललितपुर र पछिल्लो समय नवलपरासीसम्म फैलिएको छ।
“बर्डफ्लुको कुनै प्रभावकारी उपचार छैन। रोग देखिएपछि तत्काल नियन्त्रण गरेर फैलिन नदिनु नै मुख्य उपाय हो,” दाहालले भन्नुभयो। उहाँका अनुसार रोग नियन्त्रणका लागि पशु चिकित्सक तथा पशु स्वास्थ्यकर्मीहरू चौबीसै घण्टा खटिएका छन्।
हाल काठमाडौं उपत्यका बर्डफ्लुको उच्च जोखिममा रहेको जनाइएको छ। यद्यपि चितवनलगायत अन्य प्रभावित अधिकांश जिल्लामा भने सङ्क्रमण क्रमशः नियन्त्रणको चरणमा पुगेको विभागले जनाएको छ।
नियमअनुसार प्रभावित क्षेत्रमा पन्छी तथा पन्छीजन्य उत्पादन नष्ट गरिएको मितिबाट करिब दुई महिनापछि मात्रै पुनः व्यवसाय सञ्चालन गर्न पाइने व्यवस्था रहेको छ।
बर्डफ्लु नियन्त्रण नियमावली, २०७८ अनुसार रोग नियन्त्रणका क्रममा पन्छी तथा उत्पादन नष्ट गरिएका किसानलाई लागत मूल्यको ७५ प्रतिशतसम्म राहत उपलब्ध गराइने व्यवस्था छ। राहत रकमको निर्धारण भने सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितका सरोकारवाला निकायको बैठकले गर्ने जनाइएको छ।
सरकारले किसान, व्यवसायी तथा सर्वसाधारणलाई सतर्कता अपनाउन, पन्छीमा अस्वाभाविक मृत्यु देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन तथा जैविक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरेको छ।













प्रतिक्रिया दिनुहोस्