जनता टाइम्स

२६ जेष्ठ २०८३, मंगलवार ०९:५२

 प्रतिपक्षीको अवरोधबिच आज फेरि प्रतिनिधि सभा बैठक बस्दै, बजेटमाथि छलफलको कार्यसूची


काठमाडौं, जेठ २६ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज (मंगलबार)  पनि दिउँसो १ बजे बस्ने भएको छ। प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले निरन्तर संसद् अवरोध गर्दै आएका बेला बैठक पुनः बस्न लागेको हो।

सोमबार बसेको प्रतिनिधि सभा बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएको थियो। तर सहमतिको प्रयास सफल हुन नसकेपछि बैठक सूचना टाँसेर मंगलबारसम्मका लागि स्थगित गरिएको थियो।

प्रधानमन्त्री बालेन साहले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएको भन्दै विपक्षी दलहरूले संसद्मा विरोध जनाउँदै आएका छन्। उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाइनुपर्ने तथा प्रधानमन्त्रीले माफी माग्नुपर्ने माग राख्दै विपक्षी दलहरूले प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै बैठक अवरुद्ध गर्दै आएका छन्।

यसैबिच, आजको प्रतिनिधि सभा बैठकका लागि विभिन्न कार्यसूची तय गरिएको छ। बैठकको सुरुमै सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनुहुनेछ। साथै कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको मनोनयन गरिएको जानकारी पनि गराउनुहुनेछ।

सभामुखले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ राष्ट्रिय सभाबाट निर्धारित अवधिभित्र फिर्ता नभएको जानकारी पनि सदनलाई गराउनुहुने कार्यसूची रहेको छ।

त्यसपछि आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल प्रारम्भ हुने कार्यक्रम छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित बजेटमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ पनि उहाँले दिनुहुने कार्यसूचीमा उल्लेख छ।

बैठकको व्यवस्थापन कार्यअन्तर्गत अर्थमन्त्री वाग्लेले ‘विनियोजन विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्नुका साथै उक्त विधेयक सदनमा प्रस्तुत गर्नुहुनेछ। यस्तै, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ र ‘नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने तथा ती विधेयकहरू सदनमा पेस गर्ने कार्यक्रम पनि तय गरिएको छ।

त्यसै गरी सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘चलचित्र विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।

आजको बैठकको कार्यसूची धेरै भए पनि संसद्मा देखिएको राजनीतिक गतिरोध अन्त्य नहुँदा बैठक नियमित रूपमा सञ्चालन हुने वा पुनः अवरोध हुने भन्ने विषयलाई चासोका साथ हेरिएको छ। बजेटमाथिको छलफल प्रारम्भ गर्ने सरकारको तयारी र प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूको अडानबिच आजको बैठक के हुने हो भन्ने चासेका साथ हेरिएको छ ।