काठमाडौं, जेठ २६ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले ‘सुशासन’ को नारा दिएर सत्तामा पुगेका राजनीतिक शक्तिहरूको कार्यशैलीप्रति कटाक्ष गर्नुभएको छ।
सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले सुशासनको नाममा जनतालाई निराश बनाउने गतिविधि भइरहेको सङ्केत गर्नुभयो।
उहाँले सुशासनको नारा बोकेर सत्तामा पुगेका व्यक्तिहरूका काम र व्यवहारलाई नै सुशासनको मानक मान्ने हो भने जनताले ‘भो, यस्तो सुशासन चाहिँदैन’ भन्नुपर्ने अवस्था सिर्जना भएको टिप्पणी गर्नुभयो। उहाँले लेख्नु भएकाे छ, ‘सुशासन’को नारा दिएर सत्तामा आएकाहरूको काम र क्रियाकलापलाई नै सुशासनको मानक मान्ने हो भने अब जनताले भन्नुपर्ने अवस्था आयो-भो, यस्तो सुशासन चाहिँदैन। ‘
‘सुशासन’ को नाराले राजनीतिक परिवर्तन र नयाँ राजनीतिक संस्कृतिको अपेक्षा जगाएको भए पनि व्यवहारमा त्यसअनुसार परिणाम नदेखिएकाे बताउँदै पोखरेलले जनतामा निराशा बढ्न थालेको उल्लेख गर्नुभएको छ।
पछिल्लो समय सुशासन, पारदर्शिता र जबाफदेहिताको विषयलाई लिएर सरकार माथि प्रश्न उठिरहेका बेला महासचिव पोखरेलको यो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ। एमालेले पछिल्ला दिनहरूमा सरकारको कार्यशैली, प्रशासनिक कमजोरी र सुशासनका विषयमा निरन्तर प्रश्न उठाउँदै आएको छ।













प्रतिक्रिया दिनुहोस्