जनता टाइम्स

२६ जेष्ठ २०८३, मंगलवार १४:२७

सभामुख प्रधानमन्त्री समक्ष निरिह भए पछि कांग्रेस सांसदले नै चलाइदिए प्रतिनिधि सभा बैठक


काठमाडौं, जेठ २६ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले नै बैठक सञ्चालन गरेको जस्तो स्थिति देखिएको छ ।

बैठकमा सभामुख डाेलप्रसाद अर्यालको भूमिकालाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच असन्तुष्टि बढेपछि प्रमुख प्रतिपक्षी दलको अगुवाइमा शहीदहरूको सम्झनामा ५ मिनेट मौनधारण गरिएको हो । यसै क्रममा नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीले भारतसँगको सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिले नेपाललाई अन्तर्राष्ट्रिय रूपमा नकारात्मक रूपमा प्रस्तुत गरेको बताउनुभयाे ।

उहाँले नेपाललाई सीमाअतिक्रमणकारी देशका रूपमा चित्रण गर्न खोजिएको भन्दै त्यसप्रति गम्भीर आपत्ति जनाउनुभयो । ‘नेपाल विश्वको नजरमा सीमाअतिक्रमणकारी देश होइन भनेर हामी लागिरहेका छौँ, तर प्रधानमन्त्री र उहाँका शुभेच्छुकहरूले नेपाललाई सीमाअतिक्रमणकारी देश हो भनेर प्रमाणित गर्न खोजिरहनुभएको छ,’ उहाँले भन्नुभयो ।

त्यसपछि उहाँले देश बनाउन शहीदहरूको योगदानको स्मरण गर्दै प्रतिपक्षको तर्फबाट ५ मिनेट मौनधारण गर्ने घोषणा गर्नुभयो । समय सुरु भएको घोषणा गरेपछि कांग्रेससहितका प्रतिपक्षी सांसदहरूलाई उठेर मौनधारण गर्न आग्रह गरिएको थियो र सोहीअनुसार मौनधारण गरिएको थियो ।

यस घटनापछि सभामुख अर्यालले असन्तुष्टि जनाउँदै बैठक सञ्चालनको प्रक्रियामाथि प्रश्न उठाउनुभयो । सभामुखले बैठक चलाइरहेको अवस्थामा फरक विषयमा आफ्नै समय निर्धारण गरी मौनधारण गरिनु संसदीय मर्यादाविपरीत भएको टिप्पणी गर्नुभयो ।

सभामुखले  बैठक सञ्चालन गर्ने जिम्मेवारी सभामुखको हो तर सदस्यहरूले आफ्नै विवेकअनुसार समय तोकेर मौनधारण गर्नु संसदीय अभ्यास र सदनको मर्यादामाथि अपमान भएको बताउनुभयाे ।

सभाका सदस्यले प्रधानमन्त्रीलाई संसदका बाेलाए सीमाकाे बारेमा बाेलेकाे कुरा स्पष्ट पार्न माग गरिरहनु भएकाे छ । प्रधानमन्त्रीलाई रुलिङ गर्न नसकेर निरिह बन्नु भएका सभामुखलाई प्रतिपक्षले यस्ताे व्यवहार गरेका हुन् ।