काठमाडौं, जेठ २६ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति सच्याउन प्रतिनिधिसभाबाट संकल्प प्रस्ताव पारित गर्न प्रस्ताव गर्नुभएको छ । उहाँले मंगलबार संसद्मा नै उक्त प्रस्तावको मस्यौदा पढेर सुनाउँदै त्यसलाई पारित गर्न सांसदहरूलाई आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्री शाहले गत जेठ १७ गते प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिनुभएको थियो । उक्त अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले निरन्तर आपत्ति जनाउँदै आएका छन् ।
यसै सन्दर्भमा अध्यक्ष साम्पाङले प्रधानमन्त्रीको भनाइ सच्याउन र संसद्मा देखिएको वर्तमान गतिरोध अन्त्य गर्न संकल्प प्रस्ताव अघि सार्नुभएको हो । प्रतिनिधिसभामा आफ्नो धारणा राख्दै उहाँले लामो समयदेखि संसद् डेडलकको अवस्थामा रहनु दुःखद भएको बताउनुभयो ।
उहाँले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराउने विषयमा पनि टिप्पणी गर्दै भन्नुभयो, ‘प्रधानमन्त्रीलाई बोलायो, उहाँ आउँदिन भन्नुहुन्छ, पक्रेर बोकेर ल्याउने चलन छैन, सभामुखज्यूले आउनुपर्छ भन्नुहुन्छ, उहाँ मान्नुहुन्न, कहिलेकाहीँ आउनुहुन्छ, आएर फेरि के बोल्नुहुन्छ, समस्या उत्पन्न हुन्छ ।’
अध्यक्ष साम्पाङले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ८४ (१) को (ग) अनुसार संकल्प प्रस्ताव पारित गर्न सकिने उल्लेख गर्दै सोही व्यवस्थालाई टेकेर प्रस्ताव अघि बढाउनुपर्ने धारणा राख्नुभयो । उहाँले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिलाई राष्ट्रहितविपरीत भएको दाबी गर्दै त्यस्तो अभिव्यक्ति संसद्को अभिलेखबाट हटाइनुपर्ने माग पनि गर्नुभयो ।
संसद्मा जारी अवरोध अन्त्य गर्दै राष्ट्रिय हितका विषयमा स्पष्ट धारणा निर्माण गर्न संकल्प प्रस्ताव प्रभावकारी माध्यम बन्न सक्ने अध्यक्ष साम्पाङको भनाइ थियो ।













प्रतिक्रिया दिनुहोस्