जनता टाइम्स

२६ जेष्ठ २०८३, मंगलवार १५:०१

एकताबद्ध बनौँ, पार्टीको नीति, विचार र कार्यक्रमलाई जनताको घरदैलोसम्म पुर्याउँ : केपी ओली 


काठमाडौं, जेठ २६ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता कार्यकर्तालाई एकताबद्ध भएर जनतामाझ सक्रिय हुन आग्रह गर्नुभएको छ ।

नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी संगठनलाई थप सुदृढ, अनुशासित र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको हो ।

प्रमुख अतिथिका रूपमा बैठकमा सहभागी हुनुभएका अध्यक्ष ओलीले विगतका निर्वाचन अनुभवको समीक्षा गर्दै आगामी दिनमा पार्टीलाई अझ मजबुत बनाउने दिशामा केन्द्रित हुनुपर्ने बताउनुभयो । उहाँले जनतासँगको सम्बन्धलाई थप प्रगाढ बनाउँदै पार्टीको नीति, विचार र कार्यक्रमलाई घरदैलोसम्म पुर्याउन कार्यकर्तालाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

उहाँले पार्टीभित्रको एकता, संगठनात्मक सुदृढीकरण र जनपरिचालनलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने धारणा राख्नुभएको छ ।

बैठकमा निर्वाचन समीक्षा, संगठन पुनर्गठन तथा भावी कार्यदिशाबारे विस्तृत छलफल भइरहेको कार्यदलका सदस्य तथा एमाले सचिव महेश बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा विगतका निर्वाचन परिणामको विश्लेषण, संगठनात्मक संरचनाको पुनरावलोकन तथा आगामी निर्वाचनलाई लक्षित रणनीतिबारे पनि गहन छलफल भइरहेको छ ।

एमालेले आगामी राजनीतिक चुनौतीको सामना गर्न पार्टी पंक्तिलाई थप व्यवस्थित, एकताबद्ध र जनमुखी बनाउने उद्देश्यसहित निर्वाचन समीक्षा तथा संगठन पुनर्गठनको प्रक्रिया अघि बढाएको जनाएको छ ।