जनता टाइम्स

१ पुष २०७६, मंगलवार १६:२३

ठेकेदारप्रति आक्रोशित बने परराष्ट्रमन्त्री ज्ञवाली


बागलुङ, पुस १ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपालको आर्थिक विकासको मेरुदण्ड कालीगण्डकी करिडोर भएको ठोकुवा गर्नुभएको छ । बागलुङको बलेवामा आज आयोजित करिडोर हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले दुई ढुंगाबीचको तरुल नभई नेपाल दुई ठूला अर्थतन्त्रको ट्रान्जिट भएको घोषणा पनि गर्नुभयो । कार्यक्रममा मन्त्री ज्ञवालीले बर्तमान सरकारले दुवै देशको व्यापार र पर्यटनको केन्द्र नेपाल बनाउने उदघोष गर्नुभयो ।

कार्यक्रममा मन्त्री ज्ञवालीले नेपाली सेनाको कामबाट सरकार सन्तुष्ट भएको बताउनुभयो । त्रिदेशीय मार्गलाई अब सरकारले छिटै कालोपत्रे गरेर आर्थिक विकासको मेरुदण्डको रुपमा स्थापित गरेरै छाड्ने उहाँको भनाई थियो । मन्त्री ज्ञवाली काम नगर्ने ठेकेदारप्रति भने निकै आक्रोशित देखिनुभयो । काम ढीलासुस्ती गरेर उम्कने जो कसैलाई कारबाही गर्ने सरकारको बटमलाइन सुनाउँदै मन्त्री ज्ञवाली आक्रोशित बन्नुभएको हो । ‘हामी काम ढीला गरेर राष्ट्रिय विकासमा अवरोध गर्नेलाई छाड्दैनौं, ठेकेदारको मनपरी अब नेपालीलाई स्विकार्य छैन,’ मन्त्री ज्ञवालीले भन्नुभयो । उहाँले मन्त्रिपरिषदले वातावरणीय प्रभाव मूल्यांकनका आधार खुकुलो पारेकोले अव काम गर्न सहज हुने तथ्य पनि सुनाउनु भयो ।

सहज वातावरणमा पनि आलटाल गर्नेलाई कडा कारबाही गर्न सरकार पछि नपर्ने उहाँले बताउनु भयो । सडक विभागमार्फत ठेक्का लिएका धेरै सडकमा काम नभएको, ठेकेदार बेपत्ता भएको जस्ता घटनाबाट सरकार अब कडा रुपमा आउन बाध्य भएको उहाँको भनाई थियो । नेपाली सेनाले निर्माण गरिरहेको कालीगण्डकी करिडोरको बागलुङ र गुल्मी खण्डको ३० किमी सडक नेपाल सरकारलाई आज हस्तान्तरण गरिएको छ ।

सडक हस्तान्तरण कार्यक्रममा प्रधान सेनापति पूर्णचन्द्र थापाले राज्यले दिएको कार्यभार समयमा सम्पन्न गर्न सेना तयार रहेको बताउनु भयो । सडक विभागले गर्न नसक्ने कडा चट्टान भएका र बम पड्काएर बनाउनुपर्ने सडकको ट्रयाक खोल्न सधै सेना अगाडि सरेको उहाँको भनाई थियो । नेपाली सेनाले कालिगण्डकी करिडोरको बागलुङस्थित मालढुंगादेखि गुल्मीको रिडी सम्मको ८० किमी सडकको ट्रयाक खोलेर १० मीटर चौडासमेत पारेको छ । चौडा भैसकेको ३० किमी आज हस्तान्तरण भएको हो । बाँकी खण्ड चालु वर्ष भित्रै सक्ने सेनाले जनाएको छ ।