काठमाडौं, पुस १ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले पद तथा गोपनीयताको शपथ लिएसँगै आफ्ना पति रविन्द्र अधिकारीको अधुरा सपना पूरा गर्न लागिपर्ने अठोट गर्नुभएको छ । उपसभामुख डा शिवमाया तुम्बाहाङफेले सङ्घीय संसद् सचिवालयमा आज पद तथा गोपनीयताको शपथ दिलाउनुुभए लगत्तै भट्टराईले यस्तो अठोट गर्नुभएको हो ।
प्रतिनिधिसभा सदस्यको गत मङ्सिर १४ गते भएको उपनिर्वाचनमा उहाँ कास्की निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित हुनुुभएको छ । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि उक्त क्षेत्रमा प्रतिनिधिसभा सदस्य पद रिक्त भएको थियो । सांसद भट्टराई स्व अधिकारीका धर्मपत्नी हुनुुहुन्छ । उपनिर्वाचनमा आफ्ना् निकटतम प्रतिद्वन्द्वीलाई फराकिलो मतले पराजित गरी उहाँ विजयी हुनुुभएको हो ।
‘संविधानले निर्दिष्ट गरेको भूमिकामा रहेर काम गर्नेछुु, नीति निर्माण र विकास निर्माणबारे जनतासँग गरेको प्रतिबद्धता पूरा गर्न लागिपर्नेछु, जनताका प्रिय नेता रविन्द्र अधिकारीले अघि बढाउनु भएको सपनालाई पूरा गर्नेतर्फ केन्द्रित हुनेछ,’ शपथपछि सञ्चारकर्मीको प्रश्नमा भट्टराईले भन्नुभयो । चुनावी अभियानको क्रममा पनि उहाँले यहीप्रतिवद्धता जनाउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्