काठमाडौं, जेठ २६ । विश्व फुटबलको सबैभन्दा ठूलो महाकुम्भ फिफा विश्वकप २०२६ को उद्घाटन खेल मेक्सिको सिटीको एस्टाडियो एज्टेका रंगशालामा हुने भएको छ भने फाइनल खेल अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ रंगशालामा आयोजना गरिनेछ।
संयुक्त रूपमा अमेरिका, क्यानडा र मेक्सिकोले आयोजना गर्ने विश्वकप २०२६ का खेलहरू १६ वटा सहरका विभिन्न रंगशालामा सञ्चालन हुनेछन्। प्रतियोगिताका खेलहरू अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानडाका २ सहरमा खेलाइनेछन्।
८३ हजार दर्शक क्षमता रहेको एस्टाडियो एज्टेका रंगशालामा उद्घाटन खेल हुनेछ। यो रंगशालाले यसअघि सन् १९७० र १९८६ को विश्वकप उद्घाटन तथा फाइनल खेलको समेत आयोजना गरिसकेको छ।
यस्तै, विश्वकपको उपाधि भिडन्त मेटलाइफ रंगशालामा हुनेछ। ८३ हजार दर्शक क्षमता रहेको उक्त रंगशालामा समूह चरणदेखि नकआउट चरणसम्मका महत्वपूर्ण खेलहरू आयोजना गरिनेछन्।
सेमिफाइनल खेलहरू एटी एण्ड टी रंगशाला (डलास) र मर्सिडिज–बेन्ज रंगशाला (एटलान्टा) मा हुनेछन् भने तेस्रो स्थानका लागि हुने खेल हार्ड रक रंगशाला (मियामी) मा खेलाइने तालिका रहेको छ।
तीन राष्ट्रले संयुक्त रूपमा आयोजना गर्न लागेको विश्वकप २०२६ लाई इतिहासकै सबैभन्दा भव्य र विशाल संस्करणका रूपमा हेरिएको छ। उत्तर अमेरिकाभर फैलिने प्रतियोगिताले विश्वभरका करोडौँ फुटबल समर्थकको ध्यान तान्ने अपेक्षा गरिएको छ।













प्रतिक्रिया दिनुहोस्