जनता टाइम्स

२७ जेष्ठ २०८३, बुधबार १०:२८

रास्वपा वाग्मती अधिवेशनमा चरम विवाद, मध्यराती सुरु मतदानमा ५ जनाले मत हालेपछि रोकियो चुनाव


काठमाडौं, जेठ २७। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वाग्मती प्रदेश अधिवेशनमा निर्वाचन प्रक्रिया चरम विवादमा परेको छ। विवादले उग्र रूप लिएपछि मध्यरातबाट सुरु गरिएको मतदान केही समयमै स्थगित गरिएको हो।

निर्वाचन समितिका अनुसार मंगलबार राति १ः३० बजेदेखि मतदान प्रक्रिया सुरु गरिएको थियो। तर पाँच जना प्रतिनिधिले मतदान गरेलगत्तै उत्पन्न विवादका कारण निर्वाचन कार्यक्रम रोकिएको हो। निर्वाचन कार्यतालिका अनुसार प्रदेश सभापति पदका लागि चार जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए। त्यस्तै, प्रदेश समिति सदस्य पदका लागि ८८ जनाले उम्मेदवारी दर्ता गराएका थिए।

निर्वाचन समितिले मतदाताको नामावलीसमेत सार्वजनिक गरी मतदान प्रक्रिया अघि बढाएको थियो। तर मतदान सुरु भएको करिब ३० मिनेटभित्रै विवाद चर्किएपछि निर्वाचन प्रक्रिया स्थगित गर्नुपरेको बताइएको छ। विवादको प्रकृति र कारणबारे निर्वाचन समितिले औपचारिक रूपमा विस्तृत जानकारी सार्वजनिक गरिसकेको छैन।

विवाद समाधानको प्रयासस्वरूप निर्वाचन कार्यक्रम बुधबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको थियो। त्यसपछि निर्वाचन समिति अधिवेशनस्थलबाट बाहिरिएको जनाइएको छ। तर अझै मतदान प्रक्रिया अघि बढ्न सकेकाे छैन ।

पार्टीको प्रदेश नेतृत्व चयनका लागि महत्वपूर्ण मानिएको प्रदेश अधिवेशनमै निर्वाचन प्रक्रिया अवरुद्ध भएपछि अधिवेशनको व्यवस्थापन तथा आन्तरिक लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठ्न थालेको छ। विवाद समाधान गरी निर्वाचन प्रक्रिया पुनः सञ्चालन गर्ने विषयमा छलफल जारी रहेको बताइएको छ।