जनता टाइम्स

२७ जेष्ठ २०८३, बुधबार १०:४१

अर्थमन्त्री माथि लागेकाे आराेपकाे छानबिन संसद् वा संसद्ले बनाएको समितिले गर्नुपर्छ :  रामकुमारी झाँक्री


काठमाडौं, जेठ २७ । राष्ट्रिय सभा सदस्य तथा नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि लागेको आरोपको छानबिन संसद्ले गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेतृ झाँक्रीले अर्थमन्त्री वाग्ले विगतमा राष्ट्रिय योजना आयोगको सदस्य तथा उपाध्यक्षका रूपमा राज्य संयन्त्रको महत्वपूर्ण जिम्मेवारीमा रहेकाले प्रणालीभित्रको कार्यशैलीबारे जानकार रहेको टिप्पणी गर्नुभएको छ। ‘हिजो जे–जे बेथिति थिए भन्नुहुन्छ नि, तपाईं पावर पोलिटिक्सको नजिक र राज्यको संयन्त्रमै हुँदा योजना आयोगको सदस्य र उपाध्यक्ष हुँदै गर्दा त्यो प्रणालीभित्रको चलायमान र जान्ने खेलाडी हो,’ उहाँले उल्लेख गर्नुभएको छ।

झाँक्रीले विपक्षमा रहँदा बजेट र आर्थिक अनुशासनबारे कडा टिप्पणी गर्ने व्यक्तिले अर्थमन्त्री बनेपछि उठेका प्रश्नको जवाफ दिनुपर्ने बताउनुभएको छ। उहाँले अर्थ विधेयकसँग सम्बन्धित विषयलाई ‘आर्थिक अपराध’ र ‘देशद्रोही कदम’को संज्ञा दिँदै यसबारे स्वतन्त्र छानबिन आवश्यक रहेको धारणा राख्नुभएको छ। ‘अरू कसैले गरेको आर्थिक अपराध, संगठित अपराध र प्रणाली खरिद गरेको मानिने, तर तपाईं अर्थमन्त्रीको हैसियतले गरेको यो आर्थिक अपराध “नयाँ” का नाममा केही होइन, यस्तै हुन्थ्यो भनेर चुप बसिदिनुपर्ने हो ?’ झाँक्रीले प्रश्न गर्नुभएको छ।

उहाँले आरोप लागेका व्यक्तिले आफैँ छानबिन प्रक्रिया अगाडि बढाउन नमिल्ने जिकिर गर्दै त्यसो गर्नु ‘दूधको साक्षी बिरालो’ जस्तै हुने टिप्पणी गर्नुभएको छ। ‘तपाईंमाथि आरोप लाग्यो, तपाईंमाथि प्रश्न उठ्यो भने तपाईंमाथि नै छानबिन हुनुपर्छ तर तपाईंले छानबिन गराउने होइन,’ झाँक्रीले लेख्नुभएको छ।

नेतृ झाँक्रीले अर्थमन्त्रीमाथिको छानबिन संसद् वा संसद्ले गठन गर्ने विशेष समितिमार्फत निष्पक्ष ढंगले हुनुपर्नेमा जोड दिनुभएको छ। ‘तपाईंमाथिको छानबिन संसद्ले वा संसद्ले बनाएको समितिले गर्न सक्छ र गर्नुपर्छ,’ उहाँको भनाइ छ।

पछिल्लो समय अर्थ विधेयकसँग जोडिएका विभिन्न विषयमा राजनीतिक वृत्तमा बहस भइरहेको बेला नेतृ झाँक्रीको यो अभिव्यक्तिलाई अर्थमन्त्रीमाथि संसदीय जवाफदेहिताको मागका रूपमा हेरिएको छ।