जनता टाइम्स

२७ जेष्ठ २०८३, बुधबार १३:४३

प्रधानमन्त्रीको अभिव्यक्तिमा सहमति खोज्दै, संसद् बैठक दिउँसो २ बजेसम्म स्थगित


काठमाडौं, जेठ २७ । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिका कारण एक सातादेखि अवरुद्ध प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने विषयमा दलहरूबीच सहमति जुट्न नसक्दा बुधबारका लागि बोलाइएको बैठकको समय सारिएको छ। बिहान ११ बजे बस्ने तय भएको प्रतिनिधिसभा बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको हो।

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना जारी गर्दै प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेसम्मका लागि सारिएको जानकारी दिनुभएको छ। प्रधानमन्त्री शाहले नेपालले पनि भारतको केही भूभाग मिचेको अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले त्यसबारे संसद्मा स्पष्ट जवाफ माग गर्दै सदन अवरोध गर्दै आएका छन्। विपक्षी दलहरूले प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित भएर आफ्नो भनाइबारे स्पष्टीकरण दिनुपर्ने अडान राखेका छन्।

सदनको अवरोध हटाउने प्रयासस्वरूप विभिन्न तहमा संवाद जारी रहेको छ। रास्वपा सभापति रवि लामिछानेले विपक्षी दलहरूसँग छलफल गरिरहनुभएको छ। संसद् सञ्चालनका लागि विपक्षी दलहरूले मध्यमार्गी प्रस्ताव पनि अघि सारेका छन्।

प्रधानमन्त्री संसद्मा उपस्थित हुन नसक्ने अवस्थामा उहाँको लिखित स्पष्टीकरण कुनै मन्त्रीमार्फत प्रतिनिधिसभामा प्रस्तुत गर्ने विकल्पबारे छलफल भएको छ। उक्त प्रस्तावअनुसार प्रधानमन्त्रीको लिखित धारणा मन्त्रीले सदनमा पढेर सुनाउने व्यवस्था गर्न सकिने बताइएको छ।

तर, रास्वपाले भने प्रधानमन्त्री स्वयं उपस्थित हुने वा उहाँको लिखित सम्बोधन मन्त्रीले पढ्ने विकल्पप्रति सहमति जनाइसकेको छैन। रास्वपाले प्रधानमन्त्रीका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले संसद्मा स्पष्ट पार्ने प्रस्ताव अघि सारेको स्रोतहरूले बताएका छन्। तर यसमा प्रतिपक्षी तयार छैनन् ।

संसद्को गतिरोध अन्त्य गरी विधायिकी प्रक्रिया अगाडि बढाउने विषयमा दलहरूबीच निरन्तर संवाद भइरहेको र दिउँसोसम्ममा कुनै सहमति जुट्ने अपेक्षा गरिएको छ। यद्यपि प्रधानमन्त्रीको स्पष्टीकरण कुन माध्यमबाट आउने भन्ने विषय नै सहमतिको प्रमुख आधार बनेको छ।

प्रधानमन्त्री शाहको अभिव्यक्तिलाई लिएर उत्पन्न विवादले संसद्को नियमित कार्यसूची प्रभावित बनेको छ भने राजनीतिक दलहरूबीच सहमतिको खोजी अझै जारी रहेको छ।