जनता टाइम्स

२७ जेष्ठ २०८३, बुधबार १७:५६

पत्नीहत्याका आरोपी ‘नेपाली ब्रो’लाई थुनामै राखेर अनुसन्धान गर्न अनुमति


काठमाडौं, जेठ २७ । श्रीमती ईश्वरी भुजेलको हत्या गरेको आरोपमा पक्राउ परेका ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापामाथि अनुसन्धान गर्न काठमडौं जिल्ला अदालतले पाँच दिनको म्याद थप गरेको छ ।

सैनिक कर्मचारीसमेत रहेकी भुजेलको हत्या आरोपमा थापा गत जेठ २३ गते पक्राउ परेका थिए । जेठ २२ गते राति तारकेश्वर नगरपालिका–६, लोलाङ पैँयुटारमा भुजेलमाथि रड प्रहार गरेर हत्या गरेको आरोप थापामाथि लागेको छ ।

थापालाई बुधबार काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि हाजिर गराइएको थियो । अदालतका सूचना अधिकारी शिव खतिवडाले अनुसन्धानका लागि पाँच दिन म्याद थप भएको जानकारी बाह्रखरीलाई दिए । न्यायाधीश पिताम्बर शर्माको इजलासबाट म्याद थपका लागि अनुमति प्रदान गरिएको हो ।

लामो समयदेखि हिंसा गर्दै आएका थापाले रड र धारिलो हतियारले प्रहार गरी गम्भीर घाइते भएकी इश्वरीको अस्पतालमा मृत्यू भएपछि प्रहरीले तत्कालै ‘नेपाली ब्रो’ लाई पक्राउ गरेको थियो ।