काठमाडौं, जेठ २७ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभामा संसदीय दलका नेता हर्क साम्पाङले प्रधानमन्त्रीले संसद्मा उठेका प्रश्नको जवाफ आफैँ दिनुपर्ने बताउँदै प्रधानमन्त्री पदलाई जिम्मेवार बनाउन आवश्यक रहेको बताउनुभएको छ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता साम्पाङले प्रधानमन्त्रीले बोलेको विषयमा अन्य मन्त्रीले जवाफ दिने अभ्यास न्यायसम्मत र संविधानसम्मत नभएको स्पष्ट पार्नुभयो। ‘प्रधानमन्त्री भन्ने पदलाई जिम्मेवार बनाउने कुरा हो, अरु केही होइन,’ उहाँले भन्नुभयो, ‘उहाँ चाहिँ यहाँ आउनै नहुने, उहाँले गरेको गल्ती अरूले सच्याउने कुरा न्यायसम्मत छैन, संविधानसम्मत पनि छैन।’
प्रधानमन्त्रीसँग सम्बन्धित विषयमा सम्बन्धित व्यक्तिकै धारणा सार्वजनिक हुनुपर्ने उहाँको भनाइ थियो। ‘सम्बन्धित व्यक्ति जसले गल्ती गरेको हो उहाँको धारणा के हो त ?’ उहाँले प्रश्न गर्नुभयो।
प्रधानमन्त्री व्यक्तिगत रूपमा संसद्मा उपस्थित हुन नसक्ने अवस्था भए लिखित रूपमा आफ्नो धारणा पठाउन सक्ने विकल्प रहेको पनि उहाँले औंल्याउनुभयो। ‘त्यसलाई उहाँ यहाँ आएर बोल्न पायक परेन भने उहाँले लिखतमा हस्ताक्षर गरेर पठाइदिनुस्,’ साम्पाङले भन्नुभयो।
उहाँले वर्तमान राजनीतिक र संवैधानिक अभ्यासमाथि समेत प्रश्न उठाउँदै देशको अवस्थाबारे गम्भीर समीक्षा आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। ‘संविधान असफल कि हाम्रो कानुन असफल, हामी असफल कि समय असफल, कि हाम्रो व्यवहार असफल ? कसैले कसैलाई नमान्ने, तँ ठूलो कि म ठूलो, पेलेरै लाने कि सम्हालेर लाने ? प्रश्नै प्रश्न छन्,’ उहाँले भन्नुभयो।
प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्ने संवैधानिक व्यवस्था व्यवहारमा पनि कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै उहाँले ‘प्रधानमन्त्री संसद्प्रति उत्तरदायी नहुने ? कि संविधान मन लाग्दा मान्ने, मन नलाग्दा नमान्ने हो ?’ भन्दै प्रश्न गर्नुभयो।
साम्पाङले प्रधानमन्त्रीको संसदीय उत्तरदायित्व सुनिश्चित गर्दै संविधान र लोकतान्त्रिक मूल्यमान्यतालाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ।













प्रतिक्रिया दिनुहोस्