जनता टाइम्स

२८ जेष्ठ २०८३, बिहीबार १०:४८

प्रधानमन्त्रीकाे अभिव्यक्ति राष्ट्रघाती र तथ्यहीन, सभामुखको व्यवहार शङ्कास्पद : हर्क साम्पाङ 


काठमाडौं, जेठ २८ । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र साह बालेनले नेपाल–भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्ति सच्याउन माग गर्दै त्यसलाई ‘राष्ट्रघाती र तथ्यहीन’ भएको टिप्पणी गरेको छ। पार्टीले प्रतिनिधिसभामा आफ्ना सांसदलाई बोल्न नदिएको भन्दै सभामुखको भूमिकाप्रति पनि गम्भीर आपत्ति जनाएको छ।

पार्टी अध्यक्ष हर्कराज राई ‘हर्क साम्पाङ’द्वारा बिहीबार जारी विज्ञप्तिमा प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमा चोट पुगेको उल्लेख गरिएको छ। ‘देशको भूगोलभन्दा ठुलो विकासे कामकाज हुन सक्दैन, हाम्रो सार्वभौमसत्ताभन्दा ठुलो कुनै विषय बन्न सक्दैन, बन्नु हुँदैन,’ विज्ञप्तिमा भनिएको छ, ‘दशकौँदेखि हाम्रो सिमाना भारतले मिच्दै आइरहेको छ, त्यसतर्फ कूटनीतिक वार्ता र संवादको पहल गर्नुको सट्टा देशको सिमाना रक्षा गर्न नसक्ने/नचाहने वर्तमान सरकारका प्रधानमन्त्री आफैले “नेपालले पनि धेरै ठाउँहरूमा भारतको सिमाना मिचेको छ” भन्ने राष्ट्रघाती र तथ्यहीन अभिव्यक्ति दिँदा हाम्रो राष्ट्रिय स्वाभिमान गिरेको महसुस भएको छ।’

साम्पाङले प्रधानमन्त्रीले दिएको उक्त अभिव्यक्ति सच्याउनुपर्ने माग गर्दै सो विषयमा संसद्मा असहमति जनाउने क्रममा आफूहरूमाथि विभेद भएको आरोप लगाउनु भएको छ । विज्ञप्तिमा भनिएको छ, ‘सबै प्रतिपक्षी दलका नेताहरूलाई रोस्ट्रम प्रयोग गरी बोल्न दिँदा श्रम संस्कृति पार्टीलाई बोल्न नदिनुले सभामुखले पक्षपात गर्नुभएको, आफू आएको दलको सरकारको गल्ती ढाकछोप गर्न खोज्नुभएको र सरकारको पक्षमा उभिनुभएको देखिन्छ।’

पार्टीले सभामुखको उक्त व्यवहारलाई लोकतान्त्रिक संसदीय अभ्यास विपरीत भएको दाबी गर्दै त्यसको भर्त्सना गरेको छ। ‘विधिको शासनमा विश्वास गर्ने हाम्रो पार्टीले सार्वभौम संसदभित्र सभामुखजस्तो जिम्मेवार पदबाट यस्तो विभेदकारी व्यवहार हुँदा लोकतान्त्रिक संसदीय व्यवस्थाको अभ्यासमा कलङ्क पोतिएको ठानेको छ, यो अत्यन्तै निन्दनीय व्यवहारको हामी घोर भर्त्सना गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ।

श्रम संस्कृति पार्टीले संसद्को गरिमा र मर्यादा दिनप्रतिदिन खस्कँदै गएको दाबी गर्दै त्यसमा सभामुखको भूमिका कमजोर रहेको आरोप पनि लगाएको छ। ‘संसद्को मर्यादा र गरिमा दिनदिनै खस्कँदो छ, यसो हुनुमा सभामुखको कमजोरी नै प्रमुख कारण रहिआएको छ,’ विज्ञप्तिमा भनिएको छ।

पार्टीले प्रतिनिधिसभा सञ्चालन नियमावली तथा संविधानका केही व्यवस्थाहरू कार्यान्वयन हुन नसकेको दाबी गर्दै संसदबाटै विधिको शासन कमजोर बनाउने काम भइरहेको टिप्पणी गरेको छ। ‘सबैभन्दा जिम्मेवार र विधिसम्मत मानिने र मान्नुपर्ने सदनमै नियम र व्यवस्था मानिँदैन भने देशभर शान्ति सुरक्षा, सुशासन र सुव्यवस्था कायम तथा सुदृढ कसरी गर्न सकिएला ?’ भन्दै पार्टीले प्रश्न उठाएको छ।

श्रम संस्कृति पार्टीले सरकार र सभामुख दुवै पक्षबाट भएका त्रुटिहरू अविलम्ब सच्याउन आग्रह गर्दै संसद्को गरिमा, लोकतान्त्रिक मूल्य–मान्यता तथा विधिको शासनलाई सुदृढ बनाउन आवश्यक कदम चाल्न सुझाव दिएको छ।