जनता टाइम्स

२८ जेष्ठ २०८३, बिहीबार ११:५८

अर्थमन्त्री स्वर्णिम वाग्लेद्वारा भन्सार दर परिवर्तन गरेको स्वीकार, कर्मचारीले गरेको गल्ती सच्याएको दाबी 


काठमाडौं, जेठ २८ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटपछि अर्थ विधेयकमा गरिएका संशोधनहरू सामान्य प्राविधिक त्रुटि सच्याउने प्रक्रियाको हिस्सा भएको बताउनुभएको छ । उहाँले  त्यसलाई अतिरञ्जित गरी आफ्नो चरित्रमाथि प्रहार गर्ने प्रयास भएको बताउनुभएको छ।

बिहीबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै उहाँले जेठ १५ गते बजेट प्रस्तुत गरे लगत्तै अर्थ विधेयक संसदमा टेबल गरिएको र कर्मचारीहरू रातभर खटिएर सम्बन्धित कागजात तयार पार्नुभएको जानकारी दिनुभयो। ‘जेठ १५ गते आयव्ययको अनुमान पेस गरे लगत्तै मैले अर्थ विधेयक टेबल गरेँ, कर्मचारी साथीहरू बिहान ५ बजेसम्म पुस्तिका तयारीमा जुट्नुभएको थियो, हतारमा काम गर्दा केही सामान्य त्रुटि भएको पत्ता लागेपछि उहाँहरू मकहाँ आउनुभयो र सच्याउन आग्रह गर्नुभयो,’ उहाँले भन्नुभयो।

अर्थमन्त्री वाग्लेले यसअघि पनि यस्ता त्रुटि सच्याउने अभ्यास रहेको उल्लेख गर्दै गत वर्ष मात्रै ७३ वटा भन्सार दर परिवर्तन गरिएको स्मरण गराउनुभयो। ‘पोहोर साल मात्रै ७३ वटा भन्सार दर फेरिएको रहेछ, यस पटक एउटा मात्रै भन्सार दर परिवर्तन गरिएको हो, केही शुल्क र ३–४ वटा विषय अस्पष्ट रहेकाले सच्याइएको हो,’ उहाँले बताउनुभयो।

उहाँका अनुसार प्लास्टिक वा कपडाले बेरिएका सुटकेसमा लाग्ने ३० प्रतिशत भन्सार दरकै वर्गीकरणमा रगत तथा खोप बोक्ने क्यारिअर पनि परेकाले स्वास्थ्यकर्मीहरूको सुझावअनुसार जीवन रक्षक सामग्रीलाई छुट्टै वर्गीकरण गरी १५ प्रतिशत भन्सार कायम गर्ने निर्णय गरिएको हो । ‘रगत र भ्याक्सिन बोक्ने क्यारिअरलाई १५ प्रतिशतमा झारिएको हो। राजद्रोह त होइन त्यो, देशद्रोह त पक्कै होइन,’ उहाँले भन्नुभयो।

तर, प्राविधिक त्रुटिका कारण प्लास्टिकको सम्पूर्ण वर्गीकरण नै १५ प्रतिशतमा झरेको पत्ता लागेपछि त्यसलाई पुनः ३० प्रतिशत कायम गरिएको उहाँले स्पष्ट पार्नुभयो।

विद्युतीय सवारीसाधन (इभी) सम्बन्धी विवादमा पनि उहाँले आफ्नो धारणा राख्नुभयो। ५० लाख रुपैयाँसम्म मूल्य भएका इभीलाई अत्यधिक विलासी वस्तुको रूपमा नहेर्ने नीति अनुरूप सडक विकास शुल्क घटाउने व्यवस्था गरिएको उहाँको भनाइ छ । ‘५० लाखसम्मको गाडीलाई सकेसम्म यथावत् मूल्यमा उपलब्ध गराउने उद्देश्यले सडक विकास शुल्क ५ प्रतिशतबाट २.५ प्रतिशतमा झार्ने व्यवस्था गरिएको थियो तर कानुनी प्रक्रियामा जाँदा रातभरको कामका क्रममा त्यो विषय छुटेछ, पत्ता लाग्ने बित्तिकै सच्याइयो, इभी सस्तो बनाउने उद्देश्य नै त्यसको आधार थियो,’ उहाँले बताउनुभयो।

अर्थमन्त्री वाग्लेले आफूले व्यक्तिगत रूपमा करका दर परिवर्तन नगरेको स्पष्ट पार्दै कर्मचारीबाट भएको त्रुटिको राजनीतिक जिम्मेवारी भने आफूले लिएको बताउनुभयो। ‘अर्थमन्त्रीले टाइप गरेर बिगारेको होइन तर म नेता हो, कर्मचारीले गरेको गल्तीको स्वामित्व मैले लिनुपर्छ भन्ने ठानेर सच्याउन पहल लिएँ,’ उहाँले भन्नुभयो।

उहाँका अनुसार जेठ १७ गते नै संसद् सचिवालयका महासचिवलाई पत्राचार गरी विधिसम्मत रूपमा संशोधनबारे जानकारी गराइएको थियो र सांसदहरूलाई वितरण गरिएको प्रतिमा सच्याइएको विवरणसमेत समावेश गरिएको थियो। विवादलाई अनावश्यक रूपमा बढाइएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो। ‘तिललाई पहाड बनाएर दशकौँदेखि बनाएको छविलाई धमिल्याउने दुष्प्रयास भएको छ, यसप्रति म खेद व्यक्त गर्दछु,’ उहाँले भन्नुभयो।