काठमाडौं, जेठ २८ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति प्रतिनिधिसभाको रेकर्डबाट हटाउन तथा प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भएर माफी माग्नुपर्ने माग पुनः दोहोर्याउनुभएको छ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै प्लेकार्ड प्रदर्शन गर्दै विरोध जनाउनुभएका अध्यक्ष साम्पाङले प्रधानमन्त्री बालेन्द्र साहले नेपाल–भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्ति नसच्याएसम्म आफ्नो पार्टीको विरोध जारी रहने स्पष्ट पार्नुभयो।
उहाँले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गर्दै प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भई आफ्नो भनाइप्रति माफी माग्नुपर्ने बताउनुभयो। ‘प्रधानमन्त्रीले बोल्नुभएको कुरा संसद्को रेकर्डबाट हटाउनुपर्छ र उहाँ स्वयं संसदमा आएर माफी माग्नुपर्छ,’ अध्यक्ष साम्पाङले भन्नुभयो।
उहाँले आफ्नो पार्टी संसद् सञ्चालन हुनुपर्छ भन्ने पक्षमा रहेको स्पष्ट पार्दै राष्ट्रिय स्वाभिमानसँग जोडिएको विषयमा भने कुनै सम्झौता गर्न नसकिने धारणा राख्नुभयो।‘हामी संसद् चल्नुपर्छ भन्ने पक्षमा छौँ तर प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउनुपर्छ भन्ने विषयबाट पछि हट्दैनौँ,’ उहाँले बताउनुभयो।
अध्यक्ष साम्पाङले प्रधानमन्त्रीले सार्वजनिक रूपमा नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति सच्याउनुपर्ने र संसद्को अभिलेखबाट पनि उक्त भनाइ हटाउनुपर्ने माग गर्नुभयो। ‘प्रधानमन्त्रीले नेपालले भारतको सिमाना मिचेको छ भन्ने अभिव्यक्ति नसच्याउँदासम्म हाम्रो विरोध जारी रहन्छ,’ उहाँले स्पष्ट पार्नुभयो।
उहाँले संसद् नियमावलीअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिँदै यस विषयमा सभामुखको ध्यानाकर्षण समेत गराउनुभयो।
अध्यक्ष साम्पाङले सदनको गरिमा कायम राख्दै राष्ट्रिय हितका विषयमा संसद्ले स्पष्ट र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।













प्रतिक्रिया दिनुहोस्