काठमाडौं, जेठ २८ । बाल्मीकी बिद्यापिठको नक्कली पत्रका आधारमा शिक्षा मन्त्रालयले भिसा सिफारिस गरेको तथ्य भेटिएको छ ।
राजधानीको प्रदर्शनीमार्गमा रहेको वाल्मिकी विद्यापीठ क्याम्पसको नक्कली पत्रका आधारमा शिक्षा मन्त्रालयले अध्यागमनलाई १० विदेशी नागरिकका लागि भिसा सिफारिस गरेको तथ्य फेला परेको हो ।
शिक्षा मन्त्रालयले भिसाका लागि सिफारिस गरेपछि अध्यागमनले केही व्यक्तिलाई भिसा जारी पनि गरेको थियो । तर, थप व्यक्तिको जारी गर्ने बेलामा शंका लागेर जाँच गर्दा क्याम्पसको पत्र नै नक्कली रहेको भेटिएको छ ।
यो प्रकरणमा अध्यागमन विभागले अहिले दुई जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्नेमा क्याम्पसको नक्कली पत्र बनाएर भिसाका लागि मन्त्रालयमा कागजात पठाउने व्यक्ति र एक चिनियाँ महिला छन् ।
जसमा वीरगञ्ज घर बताउने र आफू पीएचडी डाक्टर रहेको दाबी गर्ने सुबोध शुक्ला र चिनियाँ महिला छु छियाओ छन् । उनीहरू दुवैलाई बुधबार अध्यागमनले नियन्त्रणमा लिएर अनुसन्धान गरेको हो ।
बिभागका अनुसार गत ६ जेठमा वाल्मिकी विद्यापीठको लेटरहेडमा ‘एकेडेमिक अध्ययन भिसाको लागि सिफारिस सम्बन्धमा’ शिक्षा मन्त्रालयलाई पत्र लेखेर १० विदेशी नागरिकको भिसा सिफारिस गरिएको थियो ।
‘नेपाल संस्कृत विश्वविद्यालय, संस्कृत साहित्य विभागद्धारा लिइएको आन्तरिक प्रवेशार्हता (भर्ना पूर्वको प्रवेश परीक्षा) मा सहभागी भई उत्तिर्ण तपसिलका विदेशी विद्यार्थीहरुलाई यस वाल्मिकी विद्यापीठमा सन् २०२६ मार्च महिनादेखि संस्कृत साहित्यमा २ वर्षे आचार्य अध्यनन गर्न प्रथम वर्षमा रीतपूर्वक भर्ना भएकाले नियमानुसार एकेडेमिक अध्ययन भिसा उपलब्ध गराइदिनु हुनु आवश्यक कागजाहरू संलग्न गरी पठाएको व्यहोरा अनुरोध छ’ वाल्मिकी विद्यापीठको पत्रमा उल्लेख थियो ।
तर वाल्मिकी विद्यापीठको लेटरहेडमा नक्कली सिफारिस भएको पाइएको छ । उक्त पत्रमा प्राचार्य अच्युतमप्रसाद लामिछानेको हस्ताक्षर थियो । जहाँ १० विदेशी विद्यार्थी भन्दै नाम र पासपोर्ट नम्बर पनि उल्लेख थियो ।
यो सिफारिसको आधारमा शिक्षा मन्त्रालयले ती १० विदेशी विद्यार्थीका लागि भिसा उपलब्ध गराउन भन्दै अध्यागमन विभागलाई सिफारिस गरेको थियो । शिक्षा मन्त्रालयका सहसचिव समेतले टिप्पणी उठाएर आदेश गरिएको पाइएको छ । यसै आधारमा २१ जेठमा शिक्षा मन्त्रालयले अध्यागमन विभागलाई पत्राचार गर्दै भिसाका लागि सिफारिस गरेको थियो ।
शिक्षा मन्त्रालयको सिफारिस आएपछि अध्यागमनले ८ जनाको भिसाको समेत जारी गरेको थियो । भिसा जारी हुनेमा एक कोरियन, एक रसियन र ६ जना चिनियाँ नागरिक थिए । सिफारिस भएका मध्ये वाङ लि-सान र हासिङ यु हसिन जारी हुन बाँकी नै रहेको छ ।
मन्त्रालयबाट सिफारिस भएर आएका १० जना मध्ये बुधबार दुई जनाको भिसा जारी गर्ने क्रममा शंका लागेपछि अध्यागमनले कागजात जाँच गरेको थियो । मन्त्रालयबाट आएको पत्रबारे पनि अध्यागमनले बुझ्दा सही भएको ठहर भयो । त्यसपछि वाल्मिकी विद्यापीठको पत्रबारे पनि अध्यागमनले जाँच गरेको थियो ।
पत्रबारे अध्यागमनले बुझ्दा वाल्मिकी विद्यापीठले नाम उल्लेख गरेका १० विदेशीलाई भिसाको सिफारिस नगरेको र त्यहाँ उल्लेख गरेको कोर्स संस्कृत साहित्यमा २ वर्षे आचार्य कोर्स समेत नरहेको खुलेको तथ्य अध्यागमनले फेला पारेको हो ।













प्रतिक्रिया दिनुहोस्