काठमाडौं, जेठ २९। नेकपा (एमाले) को पार्टी पुनर्गठन कार्यदलको बैठकले पार्टी संगठनलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्यका साथ देशव्यापी सुझाव सङ्कलन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
कार्यदलको बैठकले प्रदेश, सम्पर्क समन्वय कमिटी, जनसंगठन तथा विभिन्न निकायका पदाधिकारीहरूबाट सुझाव सङ्कलन गर्न विस्तृत कार्यतालिका सार्वजनिक गरेको हो। बैठकले पार्टी पुनर्गठनसम्बन्धी सुझाव सङ्कलन गर्दै संगठनात्मक संरचनालाई समयानुकूल बनाउने लक्ष्य लिएको जनाएको छ।
निर्णयअनुसार जेठ ३० गते वाग्मती प्रदेशबाट सुझाव सङ्कलन कार्यक्रम सुरु हुनेछ। त्यसपछि असार २ गते कोसी प्रदेश, असार ४ गते लुम्बिनी प्रदेश, असार ६ गते सुदूरपश्चिम प्रदेश, असार ८ गते कर्णाली प्रदेश, असार ११ गते गण्डकी प्रदेश र असार १३ गते मधेस प्रदेशमा भेला आयोजना गरिनेछ।
यस्तै, असार १६ गते राजधानी विशेष भेला, असार १७ गते सम्पर्क समन्वय कमिटीसँग अन्तरक्रिया, असार १८ गते जनसंगठनका प्रतिनिधिसँग छलफल तथा असार १९ गते विभाग प्रमुख र विभिन्न निकायका पदाधिकारीहरूसँग सुझाव सङ्कलन कार्यक्रम सञ्चालन गरिने निर्णय गरिएको छ।
कार्यदलले प्रदेशस्तरीय भेलामा सम्बन्धित भूगोलको जिम्मेवारीमा रहेका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा जिल्ला पदाधिकारीहरूको अनिवार्य सहभागिता रहने जनाएको छ। साथै, सम्पूर्ण कार्यक्रमको संयोजन सम्बन्धित प्रदेशका प्रदेश इन्चार्जहरूले गर्ने निर्णय पनि गरिएको छ।
बैठकले कार्यदलको सदस्य सचिवको जिम्मेवारी पार्टीका महासचिवलाई प्रदान गर्ने निर्णय गरेको छ। आयोजना हुने सबै भेलाहरूमा कार्यदलका संयोजक रामबहादुर थापा बादल, महासचिव शंकर पाेखरेल तथा सदस्यहरूको उपस्थिति रहने जनाइएको छ।
एमालेले पार्टी पुनर्गठनलाई संगठन सुदृढीकरण, कार्यशैली सुधार तथा आगामी राजनीतिक चुनौतीहरूको सामना गर्न सक्षम संरचना निर्माणसँग जोडेर हेरेको छ। यस अभियानबाट पार्टीका विभिन्न तहका नेता–कार्यकर्ताका अनुभव, सुझाव र धारणा समेट्दै पुनर्गठन प्रक्रियालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।













प्रतिक्रिया दिनुहोस्