काठमाडौं, जेठ २९ । कैलालीको गोदावरी नगरपालिकास्थित गोदावरी खोलामा आएको बाढीले बगाउँदा एक महिलाको मृत्यु भएको छ भने अर्की महिला बेपत्ता भएकी छन्।
शुक्रबार बिहान करिब ६ः४० बजे पहाडी क्षेत्रमा परेको अविरल वर्षापछि आएको बाढीले गोदावरी नगरपालिका–४ स्थित गोदावरी खोलामा दुई महिलालाई बगाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीका अनुसार खोज तथा उद्धारका क्रममा गोदावरी नगरपालिका–४ निवासी जीवन धमलाकी श्रीमती ५५ वर्षीया महेश्वरी धमला गोदावरी खोलाको मसानघाट नजिक मृत अवस्थामा फेला परेकी हुन्। सोही स्थानकी ४० वर्षीया कल्पना साउद भने बाढीमा परी बेपत्ता भएकी छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार महेश्वरी धमला र कल्पना साउद शुक्रबार बिहान करिब ६ बजे तिर जंगलमा च्याउ टिप्न घरबाट निस्किएका थिए। सोही क्रममा खोलामा अचानक आएको बाढीले उनीहरूलाई बगाएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
बेपत्ता साउदको खोजी तथा उद्धारका लागि अस्थायी प्रहरी पोस्ट गोदावरी, इलाका प्रहरी कार्यालय मालाखेती तथा अन्य सुरक्षा निकायका टोली परिचालित भएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्