जनता टाइम्स

२९ जेष्ठ २०८३, शुक्रबार १६:५५

 स्वर्णिम वाग्लेलाई एमाले नेता प्रदीप ज्ञवालीकाे जवाफ : आलोचना गर्ने मिडिया खोस्टा होइनन्, लोकतन्त्रका पहरेदार हुन्


काठमाडौं, जेठ २९ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई आलोचना गर्ने मिडियालाई ‘खोस्टा’ भनेर टिप्पणी नगर्न आग्रह गर्नुभएको छ। उहाँले पत्रकारिता लोकतन्त्रको पहरेदार भएको उल्लेख गर्दै आलोचनालाई सम्मान गर्नुपर्ने बताउनुभयो।

सामाजिक सञ्जालमा सार्वजनिक अभिव्यक्ति दिँदै नेता ज्ञवालीले अर्थमन्त्रीले उहाँप्रति उठेका प्रश्नहरूको तथ्यपरक जवाफ दिनुको साटो व्यक्तिगत आरोपमा उत्रिएको टिप्पणी गर्नुभएको छ। उहाँले भन्नुभएको छ, ‘अर्थमन्त्रीज्यू, तपाईँको आलोचनामा सामग्री प्रस्तुत गर्ने मिडियाहरू खोस्टा होइनन्, कतिपय सीमाहरू होलान्, तर तिनीहरू लोकतन्त्रका पहरेदार हुन्।’

ज्ञवालीले आर्थिक विधेयकमा भएको परिवर्तनलाई सामान्य ‘पेज सेटिङ’ को विषय नभई संसदको अवमूल्यन हुने गरी गरिएको ‘नीतिगत सेटिङ’ भएको बताउनुभएकाे छ। उक्त परिवर्तनले राजस्व संरचनामा ठूलो प्रभाव पारेको र त्यसको लाभ सीमित व्यक्ति वा घरानासम्म पुगेको उहाँको दाबी छ।

उहाँले अर्थमन्त्रीले उठेका प्रश्नहरूको तथ्यगत जवाफ दिनुको साटो आलोचकहरूमाथि व्यक्तिगत टिप्पणी र धम्कीपूर्ण शैली अपनाएको बताउनुभएकाे छ ।‘तपाईँले पत्रकारहरूलाई माइक्रोसफ्ट वर्ड चलाउन नजानेका भन्दै उपहास गर्नुभयो र आलोचक सांसदहरूलाई “तिम्रो खैरियत छैन” भन्ने शैलीमा धम्क्याउनुभयो,’ ज्ञवालीले उल्लेख गर्नुभएको छ।

उहाँले यदि कुनै व्यक्तिमा कैफियत छ भने कानुनी प्रक्रिया मार्फत कारबाही गर्न कसैले नरोकेको स्पष्ट पार्दै, यस्तो अभिव्यक्तिले झन् गम्भीर प्रश्न उठाउने बताउनुभएको छ।

हिजाे प्रतिनिध सभा बैठकमा वाग्लेल आफ्नाे आलाेचना गर्ने सञ्चारमाध्यमलाई खाेस्टाहरुले लेखे भन्नु भएकाे थियाे भने आलाेचना गर्ने संसदहरुलाई तपाईँहरुका काण्ड पनि थाहा छन्, फइल खाेलिदिन्छु भन्दै धम्क्याउनु भएकाे थियाे ।