जनता टाइम्स

२९ जेष्ठ २०८३, शुक्रबार १८:०७

संसद्‌मा ऐन महरको प्रश्न : सुस्तामा एसएसबीले गस्ती गर्‍यो, सरकार के हेरेर बसेको छ ?


काठमाडौं, जेठ २९ । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सीमा क्षेत्रमा भारतीय सुरक्षा बल प्रवेश गर्दा पनि सरकार के हेरेर बसेको छ भन्दै गम्भीर प्रश्न गर्नुभएको छ ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा एमाले सांसद महरले आकस्मिक विषय राख्न समय मागेर नवलपरासीको सुस्ता क्षेत्रमा एसएसबी प्रवेश गरी गस्ती गरेकोमा कडा रुपमा सरकारको ध्यानाकर्षण गराउन भयो । सरकार लाचार बनेर टुलुटुलु हेरिरहने प्रबृत्तिमा रमाएको भन्दै महरले कडा आक्रोश पनि पोख्नभयो ।

‘पश्चिम नवलपरासी जिल्लाको सुस्ता क्षेत्रमा भारतीय सुरक्षा बल नेपाल प्रवेश गरी ठूलो समस्या सिर्जना भएको छ । नेपालका भूमिमा छिरेर गस्ती गरेको छ,” महरले भन्नुभयो, ‘स्थानीय एकजुट भई त्यसको प्रतिकार गरेका छन् । स्थानीयबासीले लखेटेका छन् ।’

एमाले सांसद महरले सीमाको विषय प्रतिपक्षीको मात्रै नभएको भन्दै सत्तापक्ष किन अर्कै सोचमा रहेको भन्दै नियमतै प्रश्न उठाउनु भयो । ‘नेपाल सरकार के हेरेर बसेको छ ? यो प्रतिपक्षको मात्रै विषय होइन । सिंगो नेपालको विषय हो,’ महरको भनाईथियो ।

उहाँले प्रधानमन्त्री वालेन्द्र शाहले सदनमा दिएको अभिव्यक्तिका कारण सीमा क्षेत्रमा समस्या भएको ठोकुवा पनि गर्नुभयो । एसएसबीलाई लखेटेको भन्दै उनले टोपी फुकालेर त्यहाँका स्थानीयलाई धन्यवाद दिनुभयो ।