काठमाडौं, जेठ २९ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ स्थित बुचाकोटमा शुक्रबार भएको बस दुर्घटनामा मृत्यु हुने ८ जनामध्ये ४ जनाको पहिचान खुलेको छ।
बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको बा.३ ख ८३९८ नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनामा ज्यान गुमाउनेमध्ये रोशी गाउँपालिकाका तीन जना स्थानीयवासी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार दुर्घटनामा रोशी गाउँपालिका–७ निवासी ३४ वर्षीया फुलमाया तामाङ, रोशी गाउँपालिका–८ निवासी ६० वर्षीया प्यारीमाया तामाङ तथा रोशी गाउँपालिका–६ निवासी ७५ वर्षीय इन्द्रबहादुर लोप्चनको मृत्यु भएको छ। उनीहरू एउटै गाउँपालिकाका बासिन्दा हुन्।
त्यसैगरी, दैलेख घर भएका ३० वर्षीय बमबहादुर भण्डारीको पनि दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ। उनी नेपाली सेनामा अमल्दार पदमा कार्यरत थिए।
प्रहरीका अनुसार दुर्घटनामा मृत्यु भएका अन्य ४ जनाको पहिचान खुल्न बाँकी रहेको छ। मृतकहरूको सनाखत गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, दुर्घटनामा १६ जना घाइते भएका छन्। घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। उनीहरूमध्ये १२ जनाकाे पहिचान खुलेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। दुर्घटनापछि स्थानीयवासी, प्रहरी र उद्धारकर्मीको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको थियो। प्रहरीले मृतकको पहिचान तथा दुर्घटनाको थप विवरण संकलन गर्ने कार्य जारी रहेको जनाएको छ।













प्रतिक्रिया दिनुहोस्