जनता टाइम्स

३० जेष्ठ २०८३, शनिबार ०९:०७

नेपालले भारतकाे सीमा मिचेकाे प्रधानमन्त्रीकाे अभिव्यक्तमा हर्क साम्पाङले मागे रास्वपाको आधिकारिक धारणा 


काठमाडौं, जेठ २९ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई खुल्ला पत्र लेख्दै नेपाल–भारत सीमा विवादसम्बन्धी विषयमा रास्वपाको आधिकारिक धारणा सार्वजनिक गर्न आग्रह गर्नुभएको छ।

उक्त खुल्ला पत्रमा अध्यक्ष साम्पाङले प्रतिनिधिसभाको २०८३ जेठ १७ गते बसेको बैठकमा रास्वपाका सांसद तथा नेपाल सरकारका प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको सीमा मिचेको छ भनी दिएको अभिव्यक्तिप्रति पार्टी सभापतिकाे ध्यानाकर्षण गराउनुभएको छ। ‘मिति २०८३–२–१७ गते बसेको प्रतिनिधि सभाको बैठकमा तपाईँको पार्टी सदस्य तथा नेपाल सरकारको प्रधान मन्त्री बालेन्द्र शाहले सांसदहरूले सोधेका प्रश्नहरूको उत्तर दिने क्रममा “नेपालले पनि भारतको सीमा धेरै ठाउँमा मिचेको छ” भन्ने अभिव्यक्ति दिनु भएको सम्बन्धमा तपाईँको पार्टीको आधिकारिक धारणा के हो सो सार्वजनिक गरिदिन यो खुल्ला पत्र मार्फत अनुरोध छ,’ उहाँले लेख्नु भएको छ ।

साम्पाङले उक्त अभिव्यक्तिलाई उद्धृत गर्दै रास्वपाले यस विषयमा आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ। नेपाल–भारत सीमा विवादजस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर देशभर विरोध भइरहेको बेला साम्पाङले सार्वजनिक रूपमा रास्वपाको धारणा माग गर्नुभएको हो।

यद्यपि, साम्पाङले उठाउनुभएको यस प्रश्नबारे रास्वपाका सभापति रवि लामिछाने वा पार्टीका तर्फबाट हालसम्म कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।

यस्तो छ साम्पाङले लेख्नु भएको पत्र 

मिति: २०८३-२-२९

खुल्ला पत्र

श्री रबी लामिछाने ज्यु,

सभापति, रास्वपा

मिति २०८३-२-१७ गते बसेको प्रतिनिधि सभाको बैठकमा तपाईँको पार्टी सदस्य तथा नेपाल सरकारको प्रधान मन्त्री बालेन्द्र शाहले सांसदहरूले सोधेका प्रश्नहरूको उत्तर दिने क्रममा “नेपालले पनि भारतको सीमा धेरै ठाउँमा मिचेको छ” भन्ने अभिव्यक्ति दिनु भएको सम्बन्धमा तपाईँको पार्टीको आधिकारिक धारणा के हो सो सार्वजनिक गरिदिन यो खुल्ला पत्र मार्फत अनुरोध छ ! धन्यवाद !

हर्क साम्पाङ

श्रम संस्कृति पार्टी अध्यक्ष