रामेछाप, जेठ ३० । रामेछापको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको खाँडादेवी मन्दिर जाने सडक स्तरोन्नतिका लागि विनियोजन गरिएको बजेट विवादमा परेकाे छ । मन्दिर जाने सडककाे लागि आएकाे बजेट अन्यत्र खर्च गर्न खोजिएको भन्दै स्थानीयवासी, खाँडादेवी विकास कोष तथा गाउँपालिकाले विरोध जनाएका छन्।
वाग्मती प्रदेश सरकार अन्तर्गतको भौतिक पूर्वाधार विकास कार्यालय, रामेछापले खाँडादेवी मन्दिर जाने सडक स्तरोन्नतिका लागि भन्दै ७५ लाख ६४ हजार ३ सय ६७ रुपैयाँ बराबरको ठेक्का आह्वान गरेको छ। गत जेठ १३ गते प्रकाशित उक्त टेण्डरमा मन्दिर जाने मूल सडकभन्दा तल्लो क्षेत्रमा पर्ने सडकमा करिब ४ सय मिटर ड्रेन र नाला निर्माण गरी बाँकी रकमबाट मात्र मन्दिर जाने सडकको काम हुन लागेकाे भन्दै विवाद उत्पन्न भएको हो।
खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङले खाँडादेवी मन्दिर जाने सडकको स्तरोन्नतिका लागि आएको बजेट सोही प्रयोजनमा खर्च हुनुपर्ने बताउनुभयो। उहाँले विकासका योजना अन्यत्र सञ्चालन हुनुपर्नेमा आफूहरू असहमत नभएको स्पष्ट पार्दै मन्दिरको नाममा आएको बजेट अन्यत्र खर्च गर्न नहुने धारणा राख्नुभयो। ‘अन्यत्र पनि विकासको काम हुनु पर्छ, हामी त्यसको विरोधी होइनौँ तर सबैको साझा तीर्थस्थल मन्दिर जाने सडकका लागि आएको बजेट त्यही खर्च हुनुपर्छ भन्ने हाम्रो माग हो,’ उहाँले भन्नुभयो।

उहाँले खाँडादेवी गाउँपालिका–६ को अन्य सडक स्तरोन्नतिका लागि बजेट खर्च गर्ने भए सोही शीर्षकमा छुट्टै योजना बनाएर टेण्डर आह्वान गर्नुपर्ने बताउनुभयो। ‘मन्दिर जाने सडक स्तरोन्नतिको लागि आएको बजेट अन्त खर्च गर्ने कुरा स्वीकार्न सकिँदैन, आवश्यक परे हामी कानुनी बाटो खोज्छौँ,’ तामाङले चेतावनी दिनुभयो।
यसैबीच, खाँडादेवी गाउँपालिकाले पनि भौतिक पूर्वाधार विकास कार्यालय, रामेछापलाई पत्राचार गर्दै प्रदेश सरकारबाट आर्थिक वर्ष २०८२/०८३ मा खाँडादेवी मन्दिर जाने सडकका लागि विनियोजन गरिएको रकम सोही सडक स्तरोन्नतिमा खर्च गर्न आग्रह गरेको छ।
गाउँपालिकाले मन्थली–गाल्वा सडकको कालोपत्रे सडकबाट खाँडादेवी मन्दिर जाने मूल सडकको स्तरोन्नति गर्नुपर्नेमा तल्लो क्षेत्रतर्फ पर्ने जिएन बोर्डिङ स्कुल जाने सडकमा ड्रेन र नाला निर्माण गर्ने गरी नापजाँच गरिएको भन्ने निवेदन प्राप्त भएको जनाएको छ।

पालिकाले वडा नम्बर ६ को झपड चोकबाट राय गाउँ हुँदै खाँडादेवी मन्दिर पुग्ने सडक नै मन्दिर जाने मुख्य सडक भएको र यसबारे आफूहरूले यसअघि नै स्पष्ट पारिसकेको उल्लेख गर्दै सोहीअनुसार काम गर्न तथा कुनै त्रुटि भए संशोधन गर्न आग्रह गरेको छ।
यता, खाँडादेवी गाउँपालिका–६ का वडाध्यक्ष नारायण कार्कीले भने आफूमाथि लगाइएका आरोप अस्वीकार गर्नुभएको छ। उहाँका अनुसार सुरुमा मन्दिर जाने सडकका लागि ३८ लाख रुपैयाँ विनियोजन भएको थियो। वडा कार्यालयको पहलमा थप बजेट व्यवस्था भई कुल ७७ लाख रुपैयाँ पुगेको दाबी उहाँको छ।
प्रारम्भिक ३८ लाख रुपैयाँभन्दा बाहेकको रकम तल्लो क्षेत्रमा रहेका बस्तीहरूको संरक्षणमा खर्च गर्नुपर्ने उहाँकाे माग छ । ‘मन्थली–गाल्वा सडक खण्डका कारण प्रभावित झपड चोकभन्दा तलका कार्कीटोल, महत्तोल, बुद्धभवानी मावि, लामागाउँ, सिम्ले बस्ती र तार्केश्वर आधारभूत विद्यालय क्षेत्रमा भल तथा पहिरो नियन्त्रण गर्न नाला व्यवस्थापन आवश्यक छ,’ उहाँकाे भनाइ छ ।
उहाँले स्थानीयको मागअनुसार नै सो क्षेत्रमा काम समावेश गरी टेण्डर प्रक्रिया अघि बढाइएको दाबी गर्नुभएको छ।

विवादको केन्द्रमा रहेको खाँडादेवी मन्दिर जाने करिब तीन किलोमिटर सडक लामो समयदेखि जीर्ण अवस्थामा रहेको छ। सडक अत्यन्त साँघुरो र उकालो भएकाले दर्शनार्थीले सास्ती भोग्दै आएका छन्। अप्ठ्यारा मोड र जोखिमपूर्ण अवस्थाका कारण कुनै पनि बेला ठूलो दुर्घटना हुन सक्ने अवस्था छ ।
देशका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत भक्तजन आउने खाँडादेवी मन्दिरसम्म पुग्ने छोटो दूरीको सडकसमेत पूर्ण रूपमा स्तरोन्नति हुन नसक्दा स्थानीयले राज्यको प्राथमिकतामाथि प्रश्न उठाएका छन्। हाल केही स्थानमा सामान्य सुधारको काम भइरहे पनि सडकको समग्र अवस्था जोखिमपूर्ण नै रहेको छ।
मन्दिर जाने सडकका लागि विनियोजित बजेट कहाँ खर्च गर्ने भन्ने विषयमा विवाद चर्किएसँगै ठेक्का कार्यान्वयन प्रक्रिया प्रभावित हुने र सडक स्तरोन्नतिको काम थप ढिलाइ हुने चिन्ता स्थानीयवासीले व्यक्त गरेका छन्। यसबाट सबैभन्दा बढी असर खाँडादेवी मन्दिर पुग्ने श्रद्धालु तथा स्थानीय सर्वसाधारणलाई पर्ने देखिएको छ।















प्रतिक्रिया दिनुहोस्