जनता टाइम्स

३० जेष्ठ २०८३, शनिबार ११:२९

किसानलाई जङ्गली जनावरको क्षतिबाट जोगाउन नयाँ राष्ट्रिय नीति बनाऊँ : शङ्कर पोखरेल


काठमाडौं, जेठ ३० । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले जङ्गली जनावरका कारण कृषिबालीमा भइरहेको क्षतिबाट प्रभावित किसानहरूको समस्यालाई गम्भीर रूपमा लिएर नयाँ राष्ट्रिय नीति बनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ।

उहाँले सामाजिक सञ्जालमार्फत व्यक्त गरेको धारणा अनुसार अहिले किसानहरू बाँदर, बँदेल, दुम्सी लगायत जङ्गली जनावरका कारण आफ्नो खेतीबालीमा ठूलो क्षति भोग्न बाध्य भइरहेका छन्। तर राज्यका सम्बन्धित निकायहरू भने अन्तर्राष्ट्रिय अभिसन्धि र कानुनी व्यवस्थाको कारण देखाउँदै समस्याप्रति पर्याप्त सक्रिय हुन नसकेको उहाँको टिप्पणी छ।

पोखरेलले किसानहरूको अवस्था देखेर सबैलाई गम्भीर बन्नुपर्ने उल्लेख गर्दै लेख्नुभएको छ, ‘यतिवेला किसानहरू जङ्गली जनावरले पुर्‍याएको कृषिबालीको क्षति देखाएर रोइरहेको, आक्रोश पोखिरहेको दृश्यले सबैलाई उद्वेलित बनाइरहेको छ तर राज्यका निकायहरू अभिसन्धि र कानुनका कारणले ती दृश्यबाट विमुख भइरहेका छन्, यस्तो लाचारी कहिलेसम्म ?’

उहाँले अन्तर्राष्ट्रिय अभिसन्धि र कानुनलाई देखाएर किसानलाई आफ्नै थातथलो र खेतीपातीबाट विस्थापित गर्न नहुने धारणा पनि व्यक्त गर्नुभएको छ। पोखरेलले लेख्नुभएको छ, ‘अन्तर्राष्ट्रिय अभिसन्धि र कानुनको बहाना देखाएर किसानलाई आफ्नै थातथलो र खेतीपातीबाट बेदखल गर्ने काम न्यायोचित होइन, बाँदर, बँदेल र दुम्सीको आतङ्कले कृषिकर्ममा आश्रित किसानहरू विस्थापित भइरहेका छन्।’

उहाँले प्रकृति र मानवबीच सन्तुलन आवश्यक भए पनि त्यो सन्तुलन किसानकै जीवन र जीविकोपार्जनमा संकट आउने गरी हुन नहुने बताउनुभएको छ। पाेखरेलले अब ढिला नगरी सर्वदलीय बैठक बोलाएर ठोस राष्ट्रिय दृष्टिकोण बनाउनुपर्ने सुझाव दिनुभएको छ। संरक्षण क्षेत्रभित्र रहेका वन्यजन्तु संरक्षणलाई प्राथमिकता दिनुपर्ने तर कृषि क्षेत्रका लागि अलग नीति आवश्यक रहेको उहाँको भनाइ छ।

पोखरेलका अनुसार कृषि उत्पादन र किसानको सुरक्षा सुनिश्चित गर्न विशेष संरक्षणकारी नीति तथा कानुनी व्यवस्था आवश्यक भइसकेको छ।‘अब त निकै ढिला भइसक्यो’,  उहाँले लेख्नुभएको छ ।