जनता टाइम्स

३० जेष्ठ २०८३, शनिबार १५:०९

अंग्रेजलाई परास्त गरेको वीरताको प्रतीक सिन्धुलीगढीको ऐतिहासिक महत्व उजागर गर्न चियाबारी–सिन्धुलीगढी पदयात्रा


सिन्धुलीगढी, जेठ ३०। नेपाली स्वाभिमान, साहस र राष्ट्रिय एकताको प्रतीकका रूपमा परिचित ऐतिहासिक सिन्धुलीगढीको महत्वलाई उजागर गर्न शनिबार चियाबारी–सिन्धुलीगढी पदयात्रा आयोजना गरिएको छ। वीर गोर्खालीहरूले अंग्रेज सेनालाई परास्त गरेको गौरवपूर्ण इतिहाससँग जोडिएको गढीको संरक्षण, प्रवर्द्धन तथा पर्यटन विकास गर्ने उद्देश्यले नेपाली सेनाको अगुवाइमा पदयात्रा सञ्चालन गरिएको हो।

नेपाली सेनाको मध्य पृतना हेडक्वाटरको आयोजनामा तथा श्री नं. ९ बाहिनी अड्डाको संयोजनमा सम्पन्न पदयात्रामा कमलामाई नगरपालिकासहित विभिन्न सरकारी तथा गैरसरकारी निकायको समन्वय र सहकार्य रहेको थियो।

नेपालको इतिहासमा विशेष महत्व बोकेको सिन्धुलीगढी तत्कालीन गोर्खाली सेनाले अंग्रेज सेनाको विस्तारवादी योजनालाई विफल बनाएको युद्धस्थलका रूपमा परिचित छ। वि.सं. १८२४ मा भएको सिन्धुलीगढी युद्धमा सीमित स्रोतसाधन र घरेलु हतियारको प्रयोग गर्दै गोर्खाली सेनाले अंग्रेज फौजमाथि विजय हासिल गरेका थिए।

यसै ऐतिहासिक धरोहरको महत्व नयाँ पुस्तासम्म पुर्‍याउने, सिन्धुलीगढीसँग जोडिएको पुरानो पदमार्गलाई जीवन्त राख्ने तथा आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली सेनाले विगत केही वर्षदेखि नियमित रूपमा पदयात्रा सञ्चालन गर्दै आएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली सेनाका सहायक रथी भूमिभक्त वरालले नेपाली सेनाले देशभर रहेका ऐतिहासिक गढी तथा किल्लाहरूको संरक्षण र प्रवर्द्धनका लागि निरन्तर पहल गरिरहेको बताउनुभयो। चियाबारी–सिन्धुलीगढी पदयात्रा पनि सोही अभियानको निरन्तरता भएको उहाँले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘यस्ता कार्यक्रमले राष्ट्रको संरक्षणका लागि हाम्रा पुर्खाहरूले पुर्‍याउनुभएको योगदानप्रति सम्मान प्रकट गर्ने छ।’

प्राकृतिक सौन्दर्यले भरिपूर्ण ऐतिहासिक सिन्धुलीगढीसम्म पुग्ने पदमार्गलाई पर्यटन प्रवर्द्धनको महत्वपूर्ण आधारका रूपमा समेत  हेरिएको छ। अहिले सिन्धुली गढीमा पुराना संरचना जिर्णाेद्वार गरी गढीकाे संरक्षण गरिएकाे छ । यसको संरक्षण केवल एउटा पुरातात्त्विक सम्पदा जोगाउने प्रयास मात्र नभई राष्ट्रको पहिचान, स्वाभिमान र वीरताको इतिहासलाई भावी पुस्तासम्म हस्तान्तरण गर्ने अभियानका रूपमा समेत हेरिएको छ।