काठमाडौं, जेठ ३१ । कैलालीको गोदावरी नगरपालिका–४ बासपानीकी धनादेवी धामीका लागि पुरानो जीएसए टेम्पो केवल सवारी साधन थिएन, त्यो उनको परिवारको बिहान–बेलुकाको छाक जुटाउने आधार थियो । तर, डिभिजन वन कार्यालय धनगढीले वन अतिक्रमण नियन्त्रण अभियान सञ्चालन गर्ने नाममा उक्त टेम्पोलाई भीरतर्फ खसालिदिएपछि धामी परिवार यतिबेला गम्भीर आर्थिक सङ्कटमा परेको छ ।
धामीका अनुसार गाईमारेडाँडास्थित सडकछेउमा राखिएको टेम्पोबाट सामान झारेर वन कार्यालयको टोलीले गाडीलाई भीरतर्फ फालिदिएको थियो । घटनापछि टेम्पोमा ठुलो क्षति पुगेको र त्यसैसँगै परिवारको आयआर्जनको मुख्य स्रोतसमेत बन्द भएको उहाँले बताउनुभयो । ‘सामान झार्नुभयो, गाडी हामी आफैँ घर लैजान्छौँ भन्यौँ, तर कसैले सुन्नुभएन, भिरबाट खसालिदिनुभयाे’ धामीले भन्नुभयो, ‘टेम्पो बिग्रिएपछि अहिले परिवारको दैनिकी नै सङ्कटमा परेको छ ।’
उहाँका अनुसार उक्त टेम्पो नै परिवारको जीविकोपार्जनको एकमात्र माध्यम थियो । दैनिक गुजारा चलाउनदेखि छोराछोरीको आवश्यकतासम्म सोही सवारी साधनबाट प्राप्त आम्दानीमा निर्भर रहँदै आएको परिवार अहिले अन्योलमा परेको छ ।
घटनापछि स्थानीयवासीले पनि राज्यका निकायले कानुन कार्यान्वयन गर्ने नाममा मानवीय संवेदनशीलतालाई बेवास्ता गरेको भन्दै आलोचना गरेका छन् । उहाँहरूका अनुसार अस्थायी संरचना हटाउने नाममा सडक किनारमा राखिएको सवारी साधन नै भिरबाट लडाइदिने कार्य अमानवीयताको पराकाष्ठा हो ।
डिभिजन वन कार्यालय धनगढीले भने वन अतिक्रमण नियन्त्रण अभियानअन्तर्गत उक्त क्षेत्रमा ४७ वटा संरचना हटाइएको जनाएको छ । कार्यालयका सूचना अधिकारी जीवछ यादवले सम्बन्धित पक्षलाई पटक–पटक हटाउन आग्रह गर्दा पनि अटेर गरिएकाले संरचना हटाउने काम गरिएको दाबी गर्नुभयो । त्यो व्यापार गर्न प्रयोग गरिने अटो रहेको र पटक–पटक हटाउन भन्दा पनि नमानेकोले भिरबाट लडाइदिएको वन कार्यालयको दाबी छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको घटनाको भिडियोपछि राज्य संयन्त्रले कानुन कार्यान्वयन गर्दा नागरिकको मानवीय पक्षलाई समेत ध्यान दिनुपर्ने धारणा व्यक्त गरेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले घटनाबारे छानबिन सुरु गरिएको जानकारी दिनुभएको छ । सो विषयमा भिडियो आएपछि मात्रै थाहा पाएको र इलाका प्रहरी कार्यालय मालाखेतीले पीडित महिलासँग समन्वय गरिसकेको छ प्रहरीले जनाएको छ ।
वन अतिक्रमण नियन्त्रण राज्यको दायित्व भए पनि त्यसको कार्यान्वयनमा नागरिकको सम्मान, कानुनी प्रक्रिया र मानवीय संवेदनशीलताको ख्याल गरिनुपर्ने आवाज आवाज उठेको छ । भिरबाट खसेको टेम्पोसँगै धामी परिवारको दैनिक जीवन पनि अन्योलको भीरमै पुगेको छ । यो घटनाले गम्भीर प्रश्न उठाएको छ– कानुन कार्यान्वयन गर्ने नाममा कसैको जीवन धान्ने आधार नै नष्ट गरिनु कति न्यायोचित हो ?













प्रतिक्रिया दिनुहोस्