जनता टाइम्स

३१ जेष्ठ २०८३, आईतवार ०८:३७

गृहमन्त्रीलाई हर्क साम्पाङकाे प्रश्न : मोबाइल पानीमा डुबाई नष्ट गर्नेलाई कति लाख पुरस्कार दिइयो ? अनि टेम्पो भीरबाट धकेली झार्नेलाई कति दिने बक्सिस ?


काठमाडौं, जेठ ३१ । श्रम संस्कृति पार्टीका सभापति  हर्क साम्पाङले पछिल्ला दुई विवादास्पद घटनालाई लिएर गृह मन्त्रीसँग प्रश्न गर्नु भएकाे छ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उहाँले एसईई र १२ कक्षाका परीक्षा दिन गएका विद्यार्थीबाट खाेसिएकाे ४९६ वटा मोबाइल जिल्ला प्रहरी कार्यालय सिरहाले पानीमा डुबाएर नष्ट गरेको तथा कैलालीमा वन कर्मचारीले एक महिलाको टेम्पो भिरबाट खसालेको घटनामा संलग्न व्यक्तिलाई सरकारले कस्तो कारबाही गर्‍यो भनी प्रश्न गर्नुभएको हो।

उहाँले गृहमन्त्रीलाई सम्बोधन गर्दै लेख्नुभएको छ, ‘गृह मन्त्रीज्यू… मोबाइल पानीमा डुबाई नष्ट गर्नेलाई कति लाख पुरस्कार दिइयो ? अनि टेम्पो भीरबाट धकेली झार्नेलाई कति दिने बक्सिस ?’

साम्पाङले उक्त अभिव्यक्तिमार्फत राज्य संयन्त्रबाट भएका ज्यादतीका घटनामा निष्पक्ष अनुसन्धान र जवाफदेहिताको माग गर्नुभएको छ।

हालै भएकाे एसईई र ज्ञई काे परीक्षा केन्द्रमा विद्यार्थीबाट खाेसिएका  ४९६ वटा मोबाइल फोन पानीमा डुबाएर नष्ट गरिएको विषयले कानुनी राज माथि प्रशन उठाएकाे । साे विषयमा अदालतमा दायर भएकाे रिटमा  सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसम्म जफत गरिएका मोबाइल र तिनका डेटा नष्ट नगर्नु/नगराउनु भनी आदेश दिएको छ ।

यस्तै, कैलालीको गोदावरी नगरपालिका–४ बासपानी निवासी धनादेवी धामीले आफूले चलाउँदै आएको टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिएको भिडियाे सार्वजनिक भए पछि उक्त घटना पनि विवादमा तानिएको छ।

यी दुवै घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनी कारबाही हुनुपर्ने माग विभिन्न तहबाट उठिरहेको छ। यसैबीच, हर्क साम्पाङले सरकारको भूमिकामाथि प्रश्न उठाउँदै सार्वजनिक रूपमा प्रतिक्रिया दिनुभएको हो।