जनता टाइम्स

३१ जेष्ठ २०८३, आईतवार १०:१५

गोपाल घिमिरेले दिए वाकओभर, शालिकराम घिमिरे बने रास्वपा लुम्बिनीका सभापति


काठमाडौं, जेठ ३१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित हुनुभएको छ । दोस्रो चरणको मतदान हुनुअघि प्रतिस्पर्धी उम्मेदवार गोपाल घिमिरेले वाकओभर दिनुभएपछि शालिकराम सर्वसम्मत रूपमा सभापतिमा निर्वाचित हुनुभएको हो ।

यसअघि सम्पन्न पहिलो चरणको निर्वाचनमा सभापति पदका लागि ६ जनाबीच प्रतिस्पर्धा भएको थियो । कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि सर्वाधिक मत प्राप्त गर्ने दुई उम्मेदवार शालिकराम घिमिरे र गोपाल घिमिरेबीच पुनः मतदान गर्ने तयारी गरिएको थियो । तर अन्तिम समयमा सहमति जुटेपछि गोपालले आफ्नो उम्मेदवारी फिर्ता लिँदै वाकओभर दिनुभएको हाे ।

निर्वाचन समिति सदस्य गुनाराम घिमिरेका अनुसार सहमतिमार्फत शालिकरामलाई सभापतिमा निर्वाचित गराइएको हो । शालिकराम यसअघिको प्रदेश समितिका उपसभापति समेत हुनुहुन्थ्यो ।

हिजो राति सम्पन्न मतदानको मतगणना आज बिहान सकिएको थियो । पहिलो चरणको मतपरिणामअनुसार रूपन्देहीका शालिकराम घिमिरेले सर्वाधिक १ सय ९९ मत प्राप्त गर्नुभएको थियो भने अर्घाखाँचीका गोपाल घिमिरेले ८७ मत ल्याउनुभएको थियो ।

त्यसैगरी, रूपन्देहीका गणेश पौडेलले ८४ मत, बाँकेका डा. राजकुमार सुवेदीले ८० मत, रूपन्देहीकी मञ्जु भुसालले ७१ मत तथा रूपन्देहीका मधुप्रसाद अर्यालले १९ मत प्राप्त गर्नुभएको थियो । निर्वाचनमा कुल ५ सय ५२ मत खसेको थियो ।

पार्टीभित्रको आन्तरिक समीकरणका दृष्टिले पनि यो निर्वाचनलाई चासोका साथ हेरिएको थियो । नवनिर्वाचित सभापति शालिकराम घिमिरे सभापति रवि लामिछाने निकट मानिनुहुन्छ भने प्रतिस्पर्धी गोपाल घिमिरेलाई बालेन्द्र शाह (बालेन) निकट समूहको उम्मेदवारका रूपमा हेरिएको थियो ।

सभापति पदको प्रतिस्पर्धामा दुवै पक्षबाट तीन–तीन जना उम्मेदवार मैदानमा उत्रिनुभएको थियो । बालेन पक्षबाट गोपाल घिमिरे, मञ्जु भुसाल र मधुप्रसाद अर्याल उम्मेदवार बन्नुभएको थियो । तीमध्ये गोपाल दोस्रो चरणमा प्रवेश गर्न सफल हुनुभए पनि अन्ततः वाकओभर दिनुभएको थियो भने मञ्जुले ७१ र मधुले १९ मत प्राप्त गर्नुभएको थियो ।

गोपाल घिमिरेले वाकओभर दिएसँगै शालिकराम घिमिरेले रास्वपा लुम्बिनी प्रदेशको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाउनुभएको छ । यससँगै प्रदेश अधिवेशनले नयाँ नेतृत्व चयनको प्रक्रिया टुंग्याएको छ ।