विराटनगर, जेठ ३१ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आज विराटनगरमा कोशी प्रदेशस्तरीय भेला आयोजना गर्दै पार्टी नेतृत्वमाथि दबाब सिर्जना गर्ने तयारी गरेको छ । कोशी प्रदेशका १४ वटै जिल्लाका अगुवा कार्यकर्ताको सहभागिता रहने उक्त भेलालाई पार्टीका प्रभावशाली नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
भेलामा नेता डा. शेखर कोइरालालाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको छ । साथै नेता कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, डा. शशांक कोइराला, डा. मिनेन्द्र रिजाल, बलबहादुर केसी तथा एनपी साउदलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । तीन शीर्ष नेता डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला र विजयकुमार गच्छदार एउटै मञ्चमा उपस्थित हुने भएपछि उक्त भेलालाई कांग्रेस वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।
कोशी प्रदेश कांग्रेसका महामन्त्री समेत रहनुभएका नेता भूपेन्द्र राईले पार्टीभित्र देखिएका सांगठनिक कमजोरी सुधार गर्न तथा नेतृत्वलाई कार्यकर्ताको भावना बुझाउन दबाब दिन भेला आयोजना गरिएको बताउनुभएको छ । उहाँका अनुसार पार्टीको आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउन कार्यकर्ताको आवाज नेतृत्वसम्म पुर्याउनु आवश्यक छ ।
यसैबीच, पूर्वमुख्यमन्त्री केदार कार्कीले हाल सञ्चालन भइरहेको क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । उहाँले उक्त प्रक्रिया प्राविधिक रूपमा त्रुटिपूर्ण रहेको दाबी गर्दै यसले पार्टीको छविमा नकारात्मक असर पार्न सक्ने बताउनुभएको छ ।
संस्थापन इतर समूहले पछिल्लो समय सातै प्रदेशमा यस्ता भेला आयोजना गर्दै पार्टी नेतृत्वमाथि दबाब बढाउने रणनीति अपनाएको छ । यद्यपि, क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय सकिँदासमेत उक्त समूहका केही शीर्ष नेताहरूले भने सदस्यता अद्यावधिक नगराएको विषयले पनि चर्चा पाएको छ ।
उता, पार्टी सभापति गगन थापा नेतृत्वको संस्थापन पक्ष भने सदस्यता अद्यावधिक अभियानमा केन्द्रित रहेको छ । आन्तरिक एकतालाई सुदृढ बनाउन संस्थापन पक्षले इतर समूहलाई सात बुँदे सहमति प्रस्ताव समेत पठाएको जनाइएको छ । तर, इतर पक्ष भने त्यसतर्फभन्दा प्रदेशस्तरीय भेलालाई प्राथमिकतामा राख्दै आएको छ ।
हिजो बसेको कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले छुटेका तथा निरन्तरतासहित अद्यावधिक गर्न चाहने क्रियाशील सदस्यहरूले आगामी असार २० गतेभित्र केन्द्रीय कार्यालयमा निवेदन दिन सक्ने निर्णय गरेको छ ।
समितिका अनुसार क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत डिजिटल प्रणालीमा रहेका कुल ७ लाख ८२ हजार २ सय ९ जना क्रियाशील सदस्यमध्ये जेठ २८ गते राति १२ बजेसम्म ६ लाख ८७ हजार ९ सय ३१ जनाको विवरण डिजिटल प्रणालीमा प्रविष्ट भइसकेको छ ।
एकातर्फ संस्थापन पक्ष सदस्यता व्यवस्थापन र संगठन विस्तारमा केन्द्रित देखिएको छ भने अर्कोतर्फ इतर पक्षले प्रदेशस्तरीय भेलामार्फत नेतृत्वलाई दबाब दिने रणनीति अपनाएको छ । विराटनगरमा आयोजना हुन लागेको आजको भेला नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलन र आगामी महाधिवेशनको तयारीका दृष्टिले समेत महत्वपूर्ण मानिएको छ ।













प्रतिक्रिया दिनुहोस्