जनता टाइम्स

३१ जेष्ठ २०८३, आईतवार १५:३८

सुझाव संकलनसँगै एमालेमा भाले भिडन्त सुरु : अन्ततः एमाले सक्ने भयौ हैन ? भन्दै शंकरबिरुद्ध खनिए बिजय सुब्बा


काठमाडौं, जेठ ३१ । नेकपा एमालेका नेता विजय सुब्बाले अन्ततः एमाले सक्ने भयौ हैन ? भन्दै महासचिव शंकर पोखरेलसहितका नेताहरूप्रति कडा आक्रोश पोख्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्षसमेत रहनुभएका नेता सुब्बाले आक्रोश पोख्नुभएको हो ।

एमाले महासचिव शंकर पोखरेलले शनिवार अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको बागमती प्रदेश संगठन कमिटीको बैठक र पार्टी पुुनर्गठन कार्यदलको सुझाव संकलनपछिको छलफललाई लिएर सामाजिक सञ्जालमार्फत नै कटाक्ष गरेपछि आयोग प्रमुख सुब्बाले अन्ततः एमाले सक्ने भयौ हैन ? भन्ने प्रश्नसहित कडा आक्रोश पोख्नुभएको हो ।

एमालेभित्र पुनर्गठनको प्रश्न पेचिलो बनिरहेका बेला निर्वाचन आयोगका प्रमुखसमेत रहेको सुब्बाले गम्भीर आत्मसमीक्षा र नेतृत्व पुनर्गठनको विषयमा बोल्नुपर्नेमा को कतापट्टि भन्ने बहस सुरू भएको भन्दै आश्चर्य प्रकट पनि गर्नुभएको छ ।

महासचिव पोखरेलको भनाई आएलगत्तै गम्भीर आपत्तिसहित सुब्बाले लेख्नुभएको छ, ‘गम्भीर आत्मसमीक्षा र नेतृत्व पुनर्गठनको विषयमा बोल्नुपर्नेमा को कतापट्टि भन्ने कुरा सुरू गरेर अन्ततः एमाले सक्ने भयौ हैन ?’

शनिबार गुण्डुमा नेता–कार्यकर्ता बोलाएर एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई ‘लोभीपापी’को संज्ञा दिँदै उनीहरूले पार्टी फुटाउन सक्ने बताएको पोल सुनेपछि सामाजिक सञ्जालमा महासचिव पोखरेलले अध्यक्षबिरुद्ध नै सांकेतिक रुपमा बिरोध गर्नुभएको थियो ।

‘महासचिव पोखरेलले सिधै अध्यक्ष ओलीलाई काउन्टर दिँदै लेख्नुभएको छ, ‘जनभावनाविपरीत अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन। जनभावनाको सम्मानगर्दै जनसम्बन्ध सुदृढ गरौँ,किनकि जनता नै इतिहासका निर्माता हुन्।’ महासचिव पोखरेलको सोही भनाई आएलगत्तै निर्वाचन आयोग प्रमुख सुब्बाले फेसबुकमै काउन्टर दिनुभएको हो ।

शनिवार बागमती प्रदेशका नेता–कार्यकर्तासँग पुनर्गठन कार्यदलले छलफल गरेलगत्तै अध्यक्ष ओलीले बागमतीका पदाधिकारीसहितका नेताहरुसँग आफ्नै निवासमा भेट गर्नुभएको थियो । सो क्रममा अध्यक्ष ओलीले तलको सुझाव लिने भनिएकोमा नेताहरूकै जुलुर लागेर डेढ घण्टा दुई घण्टा भाषणा ठोक्न, अनि तीन मिनेमा सुझाव देऊ भन्दै कार्यकर्ता थर्काउने ? भन्दै असन्तुष्टि जनाउनु भएको थियो ।

एमालेमा बागमती प्रदेशका अधिकांश अध्यक्षहरु अध्यक्ष केपी ओलीको पक्षमा उभिएका थिए । केन्द्रीय सदस्यहरु भने बिभाजित देखिएका छन । महासचिव पोखरेल निकट केन्द्रीय सदस्यहरु पनि ओलीको बिकल्पको पक्षमा देखिएका छन ।