जनता टाइम्स

३१ जेष्ठ २०८३, आईतवार १७:१०

कांग्रेसमा निरङ्कुशताको सुरुवात भयो : डा. शेखर कोइराला


विराटनगर, जेठ ३१ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसभित्र निरङ्कुश प्रवृत्ति देखिन थालेको बताउनुभएकाे छ ।

विराटनगरमा कांग्रेसको संस्थापन इतर पक्षले आइतबार आयोजना गरेको एकता भेलालाई सम्बोधन गर्दै उहाँले पार्टीभित्र विधि र प्रक्रियाविपरीत गतिविधि बढ्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो। ‘कांग्रेसको जन्म लोकतन्त्रको स्थापना र निरङ्कुशताको अन्त्यका लागि भएको हो तर, अहिले देशैभरि वडाका सभापतिहरूलाई मौखिक रूपमा हटाउने काम भएको छ, यो निरङ्कुशताको सुरुवात हो,’ डा. कोइरालाले भन्नुभयो ।‘

उहाँले कांग्रेसलाई बलियो बनाउन पार्टीभित्रको एकता अपरिहार्य रहेको बताउनुभयो। कांग्रेसभित्र रहेका सबै शक्ति र समूहलाई एकताबद्ध गर्दै सहमति र सहकार्यका आधारमा अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ । ‘कांग्रेसभित्र सहमति, सहकार्य र एकता हुनुपर्छ, एकता बिना कांग्रेस अगाडि बढ्न सक्दैन,’ उहाँले भन्नुभयो, ‘कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुन्छ, कांग्रेस कमजोर हुँदा देशको सार्वभौमिकता र अखण्डता कमजोर हुन्छ।’

उहाँले पार्टी सभापति गगन थापासँगको छलफलपछि पाँच बुँदे प्रस्ताव तयार पारिएको जानकारी दिँदै उक्त प्रस्ताव पठाएको एक महिना बितिसक्दा पनि कुनै निष्कर्ष ननिस्किएको बताउनुभयो। ‘गगनजीसँग कुरा गरेपछि पाँच बुँदे प्रस्ताव लेख्नुपर्‍यो तर, त्यो प्रस्ताव पठाएको एक महिना भइसक्दा पनि समाधान निस्किएको छैन,’ उहाँले भन्नुभयो।

संस्थापन इतर पक्षको भेलामा सहभागी नेताहरूले पार्टीलाई थप सशक्त, एकताबद्ध र लोकतान्त्रिक ढङ्गले सञ्चालन गर्न नेतृत्वले आवश्यक पहल गर्नुपर्ने धारणा राखेका छन्।