जनता टाइम्स

३१ जेष्ठ २०८३, आईतवार १८:११

शंकर पोखरेल र योगेश भट्टराईलाई रामकुमारी झाँक्रीको खुला पत्र : दायाँ–बायाँ नगर्नुस्, संकटको सामूहिक सामना गरौँ


काठमाडौं, जेठ ३१ । नेकपा (एमाले) नेतृ रामकुमारी झाँक्रीले पार्टी महासचिव शंकर पोखरेल र उपमहासचिव योगेश भट्टराईलाई सामाजिक सञ्जाल फेसबुकमार्फत खुला पत्र लेख्दै पार्टीभित्र देखिएका चुनौतीलाई सामूहिक रूपमा सामना गर्न आग्रह गर्नुभएको छ।

पूर्वमन्त्रीसमेत रहनुभएकी झाँक्रीले ‘प्रिय दाइहरू’ सम्बोधन गर्दै लेखेको पत्रमा वर्तमान राजनीतिक तथा सामाजिक परिस्थितिमा एमाले नेतृत्वले स्पष्ट दृष्टिकोणका साथ एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ।

उहाँले पार्टीका दुई शीर्ष नेताले विगतमा विभिन्न असामान्य परिस्थितिको सफलतापूर्वक सामना गरेको स्मरण गराउँदै अहिले पनि देश, पार्टी सदस्य र मतदाताको अपेक्षा उहाँहरूमाथि रहेको उल्लेख गर्नुभएको छ। ‘यो बेला देशले तपाईहरूलाई हेरेको छ, करीब पाँच लाख पार्टी सदस्यहरू र करीब १४ लाख यस पटक भोट हालेका मतदाताहरूले तपाईहरूलाई नियाली रहेका छन्,’ झाँक्रीले लेख्नुभएको छ।

उहाँले नेपाली समाजका वर्तमान चुनौतीबारे पार्टीको दृष्टिकोण एकरूप बनाउनुपर्नेमा जोड दिनुभएको छ। पार्टीले समसामयिक घटनाक्रम र समस्याबारे साझा धारणा निर्माण गरी जनतामाझ जानुपर्ने सुझाव उहाँले दिनुभएको छ। ‘सबैभन्दा पहिले आजको नेपाली समाज र यसका घटनाक्रमबारे पार्टीको दृष्टिकोण एउटै बनाऔँ। त्यसपछि एक पटक तलतल जनताबीच जाऔँ, पार्टीलाई अपडेट गरौँ,’ उहाँले उल्लेख गर्नुभएको छ।

झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सहमतिमा नै अघि बढ्नुपर्ने धारणा पनि राख्नुभएको छ। समस्याको समाधानका लागि आफूहरूले बनाएको सोचलाई अध्यक्षसमक्ष प्रस्तुत गरी सहमत गराउनुपर्ने वा अध्यक्षको विचारमा सहमत भएर अघि बढ्नुपर्ने उहाँको सुझाव छ।

पत्रमा उहाँले पार्टी अध्यक्षलाई मात्रै समस्याको केन्द्रका रूपमा हेर्न नहुने पनि उल्लेख गर्नुभएको छ। ‘आजको समाजमा कसैका लागि बा समस्या हुन सक्छन् तर, म भन्छु बा मात्र समस्या होइन, समस्या धेरै छन्, भित्र र बाहिर दुवैतिर, अनि हामी कार्यकर्तामा पनि छन्,’ उहाँले लेख्नुभएको छ।

पार्टीभित्र देखिएका समस्या र चुनौतीको वस्तुपरक विश्लेषण आवश्यक रहेको उल्लेख गर्दै झाँक्रीले त्यसका लागि पार्टीको दर्शन, सिद्धान्त, विचार, राजनीति र इतिहासलाई आधार बनाउनुपर्ने बताउनुभएको छ। उहाँले पुराना असमझदारी र ‘ब्यागेज’ त्यागेर नयाँ ढङ्गले सोच्न नेताद्वयलाई आग्रह गर्नुभएको छ।

अध्यक्ष ओलीलाई साथमै लिएर पार्टीलाई एकताबद्ध बनाउने वातावरण सिर्जना गर्नुपर्ने उहाँको धारणा छ। ‘अध्यक्षको साथ छोड्ने होइन, साथमा लिएर जानुस्,’ उहाँले लेख्नुभएको छ, ‘एकले अर्कोलाई दोष लगाएर होइन, सामूहिक कमजोरी भए हाम्रा हुन् भन्ने ठानेर अगाडि बढ्ने वातावरण बनाउन पहल लिनुहोस्।’

झाँक्रीले जनसङ्गठनका इन्चार्ज तथा अध्यक्षहरूको भेलामा महासचिव पोखरेलले प्रस्तुत गर्नुभएको विश्लेषण आफूलाई प्रभावकारी लागेको पनि उल्लेख गर्नुभएको छ। उहाँले पोखरेल र अध्यक्ष ओलीको विश्लेषणमा तात्विक भिन्नता नरहेको दाबी गर्नुभएको छ।

पार्टीमा सबैको आ–आफ्नो स्थान र महत्व रहेको उल्लेख गर्दै उहाँले पछिल्ला दिनमा आफू एमालेमा फर्किएपछि कार्यकर्ताबाट प्राप्त आत्मीयताले आफूलाई भावुक बनाएको पनि बताउनुभएको छ। ‘हामी सबैको आफ्नो–आफ्नो ठाउँमा महत्व छ, संकटको सामूहिक सामना गर्ने हो, दाइहरू, तपाईहरू दायाँ–बायाँ नगर्नुस्,’ उहाँले लेख्नुभएको छ।

झाँक्रीले आफूले यो आग्रह बहिनीको नाताले गरेको उल्लेख गर्दै पार्टीभित्रको एकता र सहकार्यलाई बलियो बनाउन नेताहरूले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ।

उहाँको यो सार्वजनिक पत्रलाई एमालेभित्र पछिल्लो समय देखिएका आन्तरिक बहस र नेतृत्व तहबीचको सम्बन्धबारे आएको महत्वपूर्ण राजनीतिक सन्देशका रूपमा हेरिएको छ।

यस्ताे छ पत्र :

प्रिय दाइहरू!

हर प्रकारका असामान्य परिस्थितिलाई सामना गर्दै जित्दै आउनु भएका तपाई दुई जना अखिलका पूर्व अध्यक्षहरू। यो बेला देशले तपाईँहरूलाई हेरेको छ। करिब पाँच लाख पार्टी सदस्यहरू र करिब १४ लाख यस पटक भोट हालेका मतदाताहरूले तपाईँहरूलाई नियाली रहेका छन्।

आजको नेपाली समाजका चुनौती के हुन भन्ने कुरा तपाईँहरूलाई थाहा छ। र, यसको समाधान वा उपचार के हो? र कसरी गर्न सकिन्छ भन्ने पनि थाहा छ । त्यसैले सबै भन्दा पहिले आजको नेपाली समाज, यसका जटिलता, घटनाक्रम, भएका, गराइएका घटनाहरू बारे पार्टीको दृष्टिकोण एउटै बनाउनुस् । यो सैद्धान्तिक कुरा हो। त्यसपछि एक पटक तलतल जनताको बिचमा जाऊँ। पार्टीलाई अपडेट गरौँ। सुझाव पनि दिऔँ। अनि तपाईँहरूले जसरी यी समस्याहरूको हल गर्ने सोच्नु भएको छ, खोज्नु भएको छ त्यो विषयमा बालाई सहमत गराउनुस् । अथवा बाको (आइडियामा) विचारमा सहमत भएर अगाडी बढ्ने सोच्नुस्।

खोला वारी खोला पारि पिपलु र बर जस्तै हिँडेर गन्तव्यमा पुग्न सकिँदैन। एमाले कमजोर हुँदा केके समस्या आइपर्छन् भन्ने कुरा पनि त तपाईँहरूलाई थाहा छ।

आजको यो समाजमा कसैको लागि बा समस्या हुन। तर म भन्छु बा मात्र समस्या होइन। समस्या धेरै छन् भित्र र बाहिर दुबैतिर, समाजमा अनि हामी कार्यकर्तामा पनि छन्।

यसको बस्तुपरक विश्लेषण आवश्यक छ। बस्तु र घटमा बारे विश्लेषण गर्ने हाम्रो आफ्नो दृष्टिकोण छ। यस्तो विश्लेषण पार्टीको दर्शन, सिद्धान्त, बिचार राजनीति र इतिहास (जे भन्नुस्) यसको आलोकमा गर्नुपर्छ। नमिलेका विषय बस्तु मिल्ने बिन्दु पहिल्याउने माध्यम नै दृष्टिकोण हो। पुराना ब्यागेज छाडेर नयाँ ढङ्गले सोच्नुस् तपाईँहरू। यसो गर्दा अध्यक्षको साथ छोड्ने होइन साथमा लिएर जानुस्।

जनसंगठनहरूका इन्चार्ज र अध्यक्षहरूको भेलामा दिएको शङ्कर दाइको विश्लेषण मलाई गज्जब लागेको थियो। तपाईँको विश्लेषण र अध्यक्षको विश्लेषणमा तात्त्विक भिन्नता पनि छैन। अब एक पटक एकले अर्को लाई दोष लगाएर होइन सामूहिक कमजोरी भए हाम्रा भन्ने स्वीकार गरेर अगाडी बढ्ने वातावरण बनाउन पहल कदमी तपाईँहरूले लिनुहोस्। समय बलवान छ। समय कसैको नियन्त्रणमा एकैनास रहँदैन। हरेक कालरात्रि पछि नै हो सूर्य उदाउने।

मैले यहाँ दाइहरू बा भनेर लेखेको छु तर भूलबस लेखेको होइन। जानी जानी लेखेको छु। पछिल्ला दिनहरू जब म एमाले फर्के सबै भाइबहिनीहरू र दाइ दिदीहरूको एउटै कमेन्ट पाएँ त्यो हो यस्ता एमालेका कयौँ प्लेटफर्महरूमा तिमीलाई/दिदीलाई हामी खुब मिस गर्थ्यौ। हो मैले पनि त्यसै गर मिस गर्थेँ।

हामी सबैको आफ्नो आफ्नो ठाउँमा महत्त्व छ।सङ्कटको सामूहिक सामना गर्ने हो। दाइहरू तपाईँहरू दायाँ बायाँ नगर्नुस्। यति भन्ने अधिकार बहिनी भएर पाएको हो।कमरेडको रूपमा सायद म यसो भन्न नसकुँला आजै।