जनता टाइम्स

३१ जेष्ठ २०८३, आईतवार २०:०१

एमालेले थाल्यो संविधान संशोधनको काम, यस्ता छन निर्णय


काठमाडौं, जेठ ३१ । नेकपा एमालेले संविधान संशोधनका लागि औपचारिक तयारी अघि बढाएको छ । यसका लागि गठन गरिएको संविधान संशोधन सुझाव कार्यदलको पहिलो बैठक आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न भएको छ।

एमाले केन्द्रीय सचिवालयको गत जेठ ४, ८, ९ र १० गते बसेको बैठकले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा संविधान संशोधन सुझाव कार्यदल गठन गरेको थियो। पौडेल नेतृत्वको कार्यदलको पहिलो बैठकले बिभिन्न निर्णय गरेको सुझाव कार्यदलमा सचिवको जिम्मेवारी पाएका महेशकुमार बर्तौलाले जानकारी दिनुभयो । सोही बैठकले बर्ताैलालाई सदस्इ सचिव तोेकेको हो।

बैठकले संघीय लोकतान्त्रिक गणतन्त्र र विद्यमान संविधानले अवलम्बन गरेको शासन प्रणालीलाई थप सुदृढ, प्रभावकारी र समयानुकूल बनाउन राजनीतिक तथा सामाजिक जीवनका विभिन्न क्षेत्रबाट सुझाव संकलन गरी संविधान संशोधनसम्बन्धी प्रस्ताव तयार गर्ने निर्णय गरेको छ।

बर्ताैलाका अनुसार कार्यदलले संविधान कार्यान्वयनको हालसम्मको अनुभवको समीक्षा गर्दै संविधानका सबल र कमजोर पक्ष, कार्यान्वयनका क्रममा देखिएका जटिलता तथा सुधारका क्षेत्र पहिचान गर्ने तयारी पनि अघि बढाएको छ । यसका लागि पूर्वमन्त्री अग्निप्रसाद खरेलको संयोजकत्वमा उपसमिति गठन गरिएको छ। उपसमितिमा रमेश बडाल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टिकराम भट्टराई, राजेन्द्र घिमिरे र अमर थापा सदस्य रहेका छन्। उपसमितिले संविधान संशोधनसम्बन्धी सुझाव संकलनको कार्ययोजना तथा विस्तृत कार्यतालिका तयार गरी आगामी बैठकमा पेश गर्नेछ।

बैठकले अन्य राजनीतिक दल तथा दलहरूले गठन गरेका संविधान संशोधनसम्बन्धी संयन्त्रहरूसँग संवाद, छलफल र अन्तरक्रिया अघि बढाउने निर्णय पनि गरेको छ। यससँगै संविधान संशोधन सुझाव कार्यदलको सदस्य सचिवको जिम्मेवारी महेशकुमार बर्तौलालाई प्रदान गरिएको छ।

कार्यदलमा रघुजी पन्त, छविलाल विश्वकर्मा, पद्मा अर्याल, जुलीकुमारी महतो, अग्निप्रसाद खरेल, रमेश बडाल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टिकराम भट्टराई, पासाङ शेर्पा, अमर थापा र राजेन्द्र घिमिरे सदस्य छन्।

एमालेले संविधान संशोधनलाई औपचारिक रूपमा पार्टीको नीति तहबाट अघि बढाउन थालेसँगै आगामी दिनमा यस विषयमा राजनीतिक बहस र अन्तरदलीय संवाद थप सक्रिय हुने संकेत देखिएको छ।