काठमाडौं, असार १ । नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले पार्टीका उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल तथा उपमहासचिव योगेश भट्टराईप्रति सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गर्नुभएको छ। उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत नेतृत्व तहलाई लक्षित गर्दै संयमित हुन आग्रह गर्नुभएको हो।
थापाले आफ्नो फेसबुक स्टाटसमार्फत पार्टी अध्यक्षबाट केही व्यक्तिलाई लक्षित गर्दै प्रयोग गरिएको ‘लोभीपापी’ भन्ने शब्द र त्यससँग जोडिएको प्रचारप्रति प्रतिक्रिया जनाउँदै पार्टीका शीर्ष नेताहरूले त्यसमा अनावश्यक रूपमा प्रतिक्रिया जनाउन नहुने धारणा राख्नुभएको छ। उहाँले लेख्नुभएको छ, ‘योजनाबद्ध रूपमा उत्तेजित पार्न “लोभीपापी” नामाकरण र प्रचारबाट तरंगित भएर पार्टीका उपाध्यक्ष, महासचिव र उपमहासचिवले वाल रंगाउनु जरूरी छैन। संयमित बनौँ !’
थापाको यो अभिव्यक्ति एमालेभित्र पछिल्लो समय देखिएको वैचारिक तथा सांगठनिक बहसकै निरन्तरताका रूपमा हेरिएको छ। यद्यपि, थापाले आफ्नो स्टाटसमार्फत ‘लोभीपापी’ भन्ने अभिव्यक्ति कसलाई लक्षित गरेर प्रयोग गरिएको हो भन्ने विषय स्पष्ट पार्नुभएको छैन।
एमालेभित्र पछिल्ला दिनहरूमा पार्टीको आन्तरिक अनुशासन, नेतृत्व शैली र सार्वजनिक अभिव्यक्तिलाई लिएर विभिन्न तहमा बहस चलिरहेका बेला केन्द्रीय सदस्य थापाको यो टिप्पणीलाई अर्थपूर्ण रूपमा हेरिएको छ। विशेषगरी सामाजिक सञ्जालमार्फत पार्टीका उच्च तहका नेताहरुबाट कार्यकर्तालाई उत्तेजित पार्ने खालका धारणा आउनुलाई राम्राे मानिएकाे छैन ।
राजनीतिक दलका नेताहरूबीच मतभिन्नता हुनु स्वाभाविक मानिए पनि त्यसको अभिव्यक्ति सार्वजनिक रूपमा आउँदा त्यसले पार्टीभित्रको एकता र अनुशासनबारे प्रश्न उठाउने गरेको राजनीतिक विश्लेषकहरूको भनाइ छ। यही सन्दर्भमा थापाको पछिल्लो अभिव्यक्तिले एमाले वृत्तमा थप चर्चा सिर्जना गरेको छ।













प्रतिक्रिया दिनुहोस्