जनता टाइम्स

१ असार २०८३, सोमबार ०९:११

नयाँ सरकार गठनपछि लागुऔषध ओसारपसारका घटना बढ्दो, भारतीय स्कारपियोबाट १०४ किलोभन्दा बढी गाँजा बरामद


काठमाडौं, असार १ । पछिल्ला दिनहरूमा देशका विभिन्न स्थानबाट ठूलो परिमाणमा लागुऔषध बरामद हुने क्रम बढिरहेका बेला सुनसरीमा भारतीय नम्बर प्लेटको स्कारपियो जीपबाट १०४ किलोभन्दा बढी गाँजा बरामद भएको छ। दुर्घटनाग्रस्त अवस्थामा फेला परेको उक्त गाडीबाट प्रहरीले लागुऔषध बरामद गरेको हो।

नेपाल प्रहरीका अनुसार सुनसरीको बराहक्षेत्र नगरपालिका–३ नडाहा चोकस्थित मदन भण्डारी लोकमार्गमा सोमबार बिहान चतराबाट नडाहातर्फ आउँदै गरेको BR31P6651 नम्बरको भारतीय स्कारपियो सडक छेउमा रहेको चिया पसलको टहरोमा ठोक्किएर दुर्घटनामा परेको थियो।

घटनाको सूचना प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर गाडीको जाँच गर्दा भित्र लुकाइछिपाइ राखिएको चारवटा प्लास्टिकको बोरामा १०४ किलो ८५५ ग्राम गाँजा फेला पारेको जनाएको छ।

प्रहरीले बरामद गरिएको गाँजा र स्कारपियोलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगर, सुनसरीमा राखेर थप अनुसन्धान अघि बढाएको छ।

दुर्घटनापछि चालक फरार रहेकाले उहाँको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। साथै, बरामद गाँजा कहाँबाट ल्याइएको थियो र कुन गन्तव्यमा पुर्‍याउने तयारी गरिएको थियो भन्ने विषयमा पनि अनुसन्धान जारी रहेको छ।

पछिल्लो समय सीमावर्ती क्षेत्र तथा मुख्य राजमार्गहरू प्रयोग गरी लागुऔषध ओसारपसारका घटना सार्वजनिक भइरहेका छन्।  राजधानीमा समेत ठुलाे परिणाममा लागु औषध फेला परेकाे थियाे ।बालेन नेतृत्वकाे नयाँ सरकार बनेकाे छोटो अवधिमै ठूलो परिमाणमा लागुऔषध बरामद भएका घटनाले सुरक्षा निकायका लागि चुनौती थपिएको देखिन्छ।