जनता टाइम्स

१ असार २०८३, सोमबार १०:०९

कर्मचारीमाथि बालेन सरकारको डण्डा : कार्यालय समयमा फेसबुक-ट्वीटर चलाउन प्रतिबन्ध


काठमाडौं, असार १ । सरकारले कर्मचारीलाई कार्यालय समयमा फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाएको छ । कार्यालय समयमा सामाजिक सञ्जालमा रमाएर सेवाग्राहीलाई दुःख दिएको निश्कर्षसहित सरकारले परिपत्र नै जारी गरेर फेसबुक सञ्चालनमा रोक लगाएको हो ।

यही कामका लागि सरकारले स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृत वा प्रमुख प्रशासकीय अधिकृतको कार्य गर्न तोकिएका कर्मचारीको व्यवहारलाई अनुशासित र सदाचारयुक्त बनाउने भन्दै गत जेठ २७ गतेदेखि लागू हुने गरी आचारसंहिता लागू गरेको छ ।

आचारसंहितामा ‘कार्यालय समय अवधिमा मोबाइल वा कम्प्युटरमार्फत व्यक्तिगत प्रयोजनका लागि सामाजिक सञ्जालको प्रयोग गर्नु हुँदैन,’ भन्ने प्रष्ट किटानी गरिएको छ । भूमि ब्यवस्था, हकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आचारसंहिता मन्त्रालयले आफ्नो वेबसाइटमा समेत राखेको छ । आचारसंहितामा विभिन्न ८ वटा बुँदामा व्याख्या गरिएको छ ।

सरकारले कार्यालय समयबाहिर सामाजिक सञ्जाल प्रयोग गर्नु परेमा पनि मर्यादाले अस्वीकार गर्ने किसिमका श्रव्यदृश्य सामग्री राख्न तथा शेयर गर्न निषेध गरिएको छ । यस्तै आचारसंहितामा सेवाग्राहीसँग खाजा खान नपाइने भनिएको छ । ‘कार्यालय समयबाहेक अन्य समयमा फेसबुक, ट्वीटर (एक्स), ह्वाट्सएप, लिंक्डइन, टिकटकजस्ता सामाजिक सञ्जाल प्रयोग गर्दा सेवाको मर्यादा र आस्थामा आँच नआउने गरी व्यावसायिक आचारसंहिताको अधीनमा रही उच्चतम सतर्कता अपनाउनुपर्नेछ,’ आचारसंहितामा भनिएको छ ।

सोही विषयमा भनिएको छ, ‘सामाजिक सञ्जालको प्रयोग गर्दा सरकारी सेवाको गरिमामा आँच आउने, कर्मचारीको मानमर्दन हुने तथा जनमानसमा भ्रम एवं अविश्वास पैदा हुने, मर्यादाले अस्वीकार गर्ने किसिमका श्रव्यदृश्य सामग्री राख्न एवं शेयर गर्नु हुँदैन।’

सामाजिक सञ्जाल तथा अनलाइनमा प्रकाशित समाचारमा प्रतिक्रिया लेखी कुनै पनि निकायका पदाधिकारीबाट सम्पादन गरिएका कामकारबाहीका सम्बन्धमा व्यक्तिगत मान, सम्मान र मर्यादामा आँच पुग्ने गरी व्यंग्य वा टीकाटिप्पणी नगर्न पनि भनिएको छ । आचारसंहितामा थप भनिएको छ, ‘पदीय हैसियतबाट गाउँपालिका तथा नगरपालिकाको नामबाट सामाजिक सञ्जाल प्रयोग गर्दा व्यक्तिगत पहिचान खुलाउनु हुँदैन।’

गाउँपालिका तथा नगरपालिकाको कामसँग सम्बन्धित कुनै पनि व्यक्ति वा संस्थाबाट कार्यपालिका र मन्त्रालयको स्वीकृतिबेगर कुनै पनि प्रकारको उपहार, आतिथ्यता स्वीकार गर्न तथा आफूलाई गैरकानुनी फाइदा पुग्ने कुनै पनि कार्यमा संलग्न हुन हुँदैन भनी आचारसंहितामा प्रशासकीय अधिकृतलाई कडाइ गरिएको छ ।

यस्तै सेवाग्राहीसँग खाजा खानसमेत सरकारले रोक लगाएको छ । ‘जुनसुकै कामको सिलसिलामा स्थलगत भ्रमणमा जाँदा सम्बन्धित सेवाग्राही, निर्माण व्यवसायी वा स्थानीय तहका सेवा प्रदायकको सौजन्यमा होटलवास, खाजा–खाना, सवारीसाधन वा अन्य कुनै किसिमको सुविधा प्रयोग वा उपयोग गर्नु हुँदैन,’ आचारसंहितामा भनिएको छ ।

यस्तै कार्यालयमा के गर्न पाइने ? के नपाइने भन्ने बुँदा पनि खुलाइएको छ । ‘कार्यालयभित्र वा सार्वजनिक स्थलमा मदिरा सेवन गर्ने, तासजुवा खेल्ने तथा आफू कार्यरत स्थानीय तह एवं राष्ट्रसेवकको मर्यादामा आँच आउने कुनै पनि काम गर्नु हुँदैन,’ आचारसंहितामा भनिएको छ । कानूनबमोजिम स्वीकृति दिने निकाय वा पदाधिकारीको स्वीकृतिबेगर विदेश भ्रमण, तालिम वा कार्यशाला गोष्ठीमा भाग लिन जाने, दातृ निकाय वा अन्य कुनै पनि संस्थासँग कुनै पनि प्रकारको सहयोग माग गर्ने अभिप्रायले पत्राचार गर्न नपाइने ब्यवस्था पनि गरिएको छ ।

सरकारले प्रमुख प्रशासकीय अधिकृतलाई सरकारी साधनको प्रयोगमा पनि स्थानीय तहमा कार्यरत कर्मचारीलाई कडाइ गरेको छ । ‘कार्यालयको कामबाहेक व्यक्तिगत काममा सरकारी सवारीसाधन प्रयोग गर्नु हुँदैन। सार्वजनिक बिदाको दिनमा सरकारी कामका लागि सवारी पास लिएर मात्र सरकारी सवारीसाधनको प्रयोग गर्नुपर्नेछ,’ आचारसंहितामा भनिएको छ ।

आचारसंहितामा थप भनिएको छ, ‘प्रचलित कानून तथा व्यवस्थाबमोजिम स्वीकृति दिने निकाय वा पदाधिकारीको स्वीकृतिबेगर विदेश भ्रमण, तालिम वा कार्यशाला गोष्ठीमा भाग लिन जाने, दातृ निकाय वा अन्य कुनै पनि संस्थासँग कुनै पनि प्रकारको सहयोग माग गर्ने अभिप्रायले पत्राचार गर्नु हुँदैन।’