जनता टाइम्स

१ असार २०८३, सोमबार ११:५६

सभामुखलाई हर्क साम्पाङकाे प्रश्न : प्रधानमन्त्रीले बोलेको राष्ट्रविराेधी अभिव्यक्ति संसदकाे रेकर्डबाट कहिले हट्छ ?


काठमाडौं, असार १ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग दोहोर्‍याउनु भएको छ ।

सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै अध्यक्ष साम्पाङले प्रधानमन्त्री शाहले दिएको भनिएको अभिव्यक्तिबारे संसद्ले अहिलेसम्म कुनै स्पष्ट निर्णय नगरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले प्रधानमन्त्रीले सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइने माग पहिले नै उठाइएको भए पनि त्यसबारे सभामुखले अझै आदेश नदिएकोप्रति प्रश्न उठाउनुभयो।

उहाँले सभामुखलाई लक्षित गर्दै उक्त अभिव्यक्ति कहिले र कसरी रेकर्डबाट हटाइने हो भन्ने स्पष्टता आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँका अनुसार संवेदनशील राष्ट्रिय विषयमा दिइएका अभिव्यक्तिहरूले संसद्को गरिमा र राष्ट्रिय हितमा प्रतिकूल प्रभाव पार्न सक्ने भएकाले त्यसबारे तत्काल निर्णय गर्नुपर्ने आवश्यकता छ।  ‘प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाइयोस् भन्ने हाम्रो माग थियो, सभामुखज्यूले त्यो कहिले हटाउने आदेश दिनुहुन्छ होला भनेर हामी व्यग्र पर्खिरहेका छौँ’, उहाँले भन्नुभयो ।

गत जेठ १७ गते प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सिमाना मिचेको छ भन्ने अभिव्यक्ति दिएको विषयले राजनीतिक वृत्तमा व्यापक विवाद सिर्जना गरेको छ। उक्त अभिव्यक्तिपछि संसदभित्र र बाहिर विभिन्न राजनीतिक दल तथा सरोकारवालाहरूले आलोचना गर्दै आएका छन्।

सोही विवादलाई लिएर श्रम संस्कृति पार्टीले निरन्तर आपत्ति जनाउँदै आएको छ र संसद्ले त्यसबारे स्पष्ट निर्णय नगरेको भन्दै पुनः रेकर्डबाट हटाउन माग दोहोर्‍याएको हो।