काठमाडौं, असार १ । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको विषय उठाउँदै सरकारसँग स्पष्ट धारणा माग गर्नुभएको छ।
सोमबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उहाँले दार्चुला क्षेत्र हुँदै भारतीय सेनाको हेलिकप्टर नेपाली आकाशमा प्रवेश गरी उडेको र त्यसमा भारतीय सेनाका उच्च पदस्थ व्यक्ति सवार रहेको भन्ने जानकारी सार्वजनिक भएको उल्लेख गर्दै यस विषयमा सरकारले आधिकारिक स्पष्टता दिनुपर्ने माग गर्नुभयो।
उहाँले उक्त घटनालाई राष्ट्रिय संवेदनशीलता र सीमासम्बन्धी विषयसँग जोड्दै सरकारले तत्काल अनुसन्धान गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने धारणा राख्नुभयो। उहाँका अनुसार सीमा क्षेत्रमा यस्ता गतिविधि भइरहनु गम्भीर विषय भएकाले राज्यले कूटनीतिक र सुरक्षा दृष्टिले कडा रूपमा ध्यान दिनुपर्ने आवश्यकता छ।
उहाँले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको सीमाना मिचेको भन्ने अभिव्यक्ति दिएपछि भारतीय पक्षको गतिविधि र चासो बढेको भन्दै त्यसको पृष्ठभूमिमा सीमा क्षेत्रमा देखिएका गतिविधिहरूलाई पनि गम्भीर रूपमा लिनुपर्ने बताउनुभयो। उहाँले कतै भारतीय पक्ष आफ्नो भूभाग खोज्ने नाममा नेपालभित्र प्रवेश गरेको हो कि भन्ने आशंका समेत व्यक्त गर्नुभयो।
उहाँले प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा ‘देश बनाउने टिम’ भन्दै गृहमन्त्री, पूर्वाधार मन्त्रीसहितको तस्वीर सार्वजनिक गरेको विषयलाई पनि व्यङ्ग्य गर्दै सरकारको प्राथमिकता र कार्यशैलीप्रति प्रश्न उठाउनुभयो। उहाँका अनुसार प्रधानमन्त्रीले सरकारको नेतृत्व, प्रशासनिक संयन्त्र र संसदप्रति जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने भए पनि हालका गतिविधिहरूले त्यसको अपेक्षा पूरा नभएको देखिएको छ।
उहाँले सरकारका मन्त्रीहरूलाई संसदमा उपस्थित भएर जनताका जल्दाबल्दा समस्याको जवाफ दिनुपर्ने आवश्यकता औँल्याउँदै प्रधानमन्त्रीलाई समय व्यवस्थापन गरी संसदमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।
त्यसैगरी उहाँले वन क्षेत्रमा कार्यरत कर्मचारीले ट्याम्पो भिरबाट लडाइदिएकाे, घरका छानामा ढुंगा खसालिएको लगायतका घटनाहरू उल्लेख गर्दै ती विषयमा पनि सरकारले गम्भीर ध्यान दिनुपर्ने बताउनुभयो।














प्रतिक्रिया दिनुहोस्