काठमाडौं, असार १ । नेकपा (एमाले) केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले पार्टीभित्र देखिएका गैरकम्युनिष्ट विकृति र विसङ्गतिलाई समयमै सच्याउन नसके पार्टी गम्भीर सङ्कटतर्फ जाने चेतावनी दिनुभएको छ ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले पार्टी निर्माण अभियानमा आफू पराजित हुनुको कारण पार्टीभित्रका कमजोरीविरुद्ध निरन्तर आवाज उठाउनु रहेको बताउनुभएको छ । ‘म पार्टी निर्माण अभियानमा त्यसै हारेको हैन । पार्टीलाई जलाइरहेका तमाम गैरकम्युनिष्ट विकृति र विसङ्गति तत्काल सच्याउनुपर्छ भनी मुख्य सबै नेताहरूमा कडा रूपमा पटकपटक राखेँ,’ उहाँले लेख्नुभएको छ ।
डा. सुब्बाले पार्टीको विधान महाधिवेशनदेखि विभिन्न तहका अधिवेशनसम्म आफूले स्पष्ट रूपमा आफ्ना धारणा राख्दै आएको उल्लेख गर्नुभएको छ । तर, सुधारका पक्षमा उठाइएका आवाजलाई गम्भीरतापूर्वक लिनुको सट्टा आफूलाई पार्टीविरोधी भाषण गरेको आरोप लगाइएको उहाँको गुनासो छ । ‘पार्टीका विधान महाधिवेशनदेखि लिएर विभिन्न तहका अधिवेशनहरूमा स्पष्ट भाषामा राखेँ तर ममाथि पार्टीविरोधी भाषण गरेको भनियो,’ उहाँले उल्लेख गर्नुभएको छ ।
उहाँले पार्टी नेतृत्वलाई खुसी पार्ने प्रवृत्ति हाबी हुँदा सुधारको प्रयास ओझेलमा परेको पनि टिप्पणी गर्नुभएको छ । ‘सच्च्याउनेतर्फ ध्यान जानु त कता हो कता, चाकरीबाजहरूको नेता खुसी पार्ने एजेण्डा बनेँ म,’ उहाँको भनाइ छ ।
डा. सुब्बाले पार्टीभित्र देखिएका समस्याहरू समयमै समाधान हुन नसक्दा अहिलेको अवस्था सिर्जना भएको दाबी गर्नुभएको छ । सञ्चारमाध्यमहरूमा सार्वजनिक भइरहेका विभिन्न घटनाक्रमले त्यसको पुष्टि गरिरहेको उहाँको संकेत छ ।
उहाँले पार्टीमा रहेका इमानदार, सक्षम र असल नियत भएका नेताहरूलाई किनारामा पार्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । त्यस्ता व्यक्तिहरूलाई नेतृत्व तहमा अवसर नदिइए पार्टीको भविष्य थप चुनौतीपूर्ण बन्ने उहाँको भनाइ छ । ‘भएमध्येका र किनारा लगाइएका असल नियतकाहरूलाई पार्टी नेतृत्वमा नलाने हो भने पार्टीको मृत्यु पर्खौँ,’ उहाँले चेतावनी दिनुभएको छ ।
डा. सुब्बाको यो अभिव्यक्ति एमालेभित्र संगठनात्मक शुद्धीकरण, आन्तरिक लोकतन्त्र र नेतृत्व चयन प्रक्रियालाई लिएर बेलाबेला उठ्दै आएका बहसका बीच सार्वजनिक भएको हो । उहाँको भनाइलाई पार्टीभित्र सुधार र आत्मसमीक्षाको आवश्यकता औँल्याउने सन्देशका रूपमा हेरिएको छ ।













प्रतिक्रिया दिनुहोस्