धनगढी, असार २ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शैलेशकुमार सिंहले आफू आक्रमण र लुटपाटको शिकार भएको जानकारी दिनुभएको छ ।
सुदूरपश्चिम प्रदेश महाधिवेशनबाट घर फर्किने क्रममा आफूमाथि आक्रमण भएको दाबी सिंहले गर्नुभएको हो । सामाजिक सञ्जालमार्फत सिंहले मंगलबार राति ७–८ जनाको समूहले योजनाबद्ध रूपमा आफूलाई सांघातिक आक्रमण गरेको र साथमा रहेका सामानसमेत लुटेर लगेको बताउनु भएको छ ।
“आज अधिवेशनबाट घर फर्किने क्रममा ७–८ जनाको समूहले ममाथि योजनाबद्ध रूपमा सांघातिक आक्रमण गरेको छ। आक्रमणकारीहरूले मसँग रहेको सामानसमेत लुटेर लगेका छन्,” सिंहले लेख्नुभएको छ । सिंहले उक्त घटनालाई लोकतान्त्रिक अभ्यास र राजनीतिक सहभागितामाथिको आक्रमणको संज्ञा दिँदै घोर निन्दा गरेका छन्।
धनगढीमा जारी रास्वपाको सुदूरपश्चिम प्रदेश महाधिवेशनका क्रममा भएको भनिएको उक्त घटनाबारे प्रहरीले भने औपचारिक प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन।












प्रतिक्रिया दिनुहोस्