जनता टाइम्स

२ असार २०८३, मंगलवार १५:०८

डिएभी कलेजमा विद्यार्थीको हामफालेर मृत्यु, कलेजले आत्महत्या गर्न बाध्य पारेको आशंका


ललितपुर, असार २ । जावलाखेलस्थित डिएभी कलेजमा अध्ययनरत एक विद्यार्थीको हामफालेर मृत्यु भएको छ। सोमबार मध्याह्न साढे १२ बजेतिर सानेपा बस्ने १८ वर्षीय आर्यन सिंहले चौथो तलाबाट हामफालेर आत्महत्या गरेको जिल्ला प्रहरी परिसर ललितपुरले बताएको छ ।

घाइते अवस्थामा फेला परेपछि सिंहलाई उपचारका लागि नजिकैको सुमेरू अस्पताल लगिएको थियो। उपचारकै क्रममा सिंहको साँझ साढे ६ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिनुभयो ।

एसपी मिश्रका अनुसार प्रहरीले घटनाको अनुसन्धान अघि बढाइसकेको छ । ‘सिसिटिभी फुटेज पनि हेरिरहेका छौं। एउटा नोट फेला परेको छ। त्यसको वास्तविकताबारे अनुसन्धान हुँदैछ । अरू अनुसन्धान पनि गरिरहेका छौं। मृतक परिवार पनि सम्पर्कमा आउनुभएको छ,’ एसपी मिश्रले भन्नुभयो ।

सिंह उक्त कलेजमा प्लस टू पढ्दै गरेका थिए । सिंहलाई कलेजले नै यस्तो अवस्थामा पुर्याएको आशंका गरिएको छ । डिएभी कलेज अनुशासन र मानसिक यातनाको मामिलामा बिगतदेखि नै बदनाम रहेको छ ।