काठमाडौं, असार ३ । चितवनबाट अपहरण गरी काठमाडौं ल्याइएका १६ वर्षीय बालकको प्रहरीले सकुशल उद्धार गरेको छ । घटनामा संलग्न रहेको आरोपमा पाँच जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चितवनका १६ वर्षीय रिसब गुप्ताको उद्धार गरेको हो । अनुसन्धान कार्यालयका प्रवक्ता एसपी शरत थापा क्षेत्रीका अनुसार पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको छ ।
प्रहरीका अनुसार सोमबार साँझ करिब ६ः३० बजे नारायणगढबाट ५–६ जनाको समूहले रिसबलाई अपहरण गरेको थियो । अपहरणकारीहरूले उहाँलाई जबर्जस्ती भारतीय नम्बर प्लेटको गाडीमा राखी काठमाडौं ल्याएका थिए ।
अपहरित बालकसहित अपहरणकारीहरू काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्क नजिक रहेको होटल फेमिलीमा बसेको सूचनाका आधारमा प्रहरीले खोजतलास अघि बढाएको थियो । सोही होटलमा बसेर अपहरणकारीहरूले बालकका बुबासँग २२ लाख रुपैयाँ फिरौती मागिरहेको खुलेको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरेको नेतृत्वमा खटिएको प्रहरी टोलीले होटलमा छापा मारेर बालकको उद्धार गर्नुका साथै पाँच जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा भारतको बिहार राज्यको बेतिया निवासी १८ वर्षीय सुजित कुमार, १८ वर्षीय गोलु कुमार, अर्का १८ वर्षीय गोलु कुमार, १८ वर्षीय बिक्कि कुमार तथा १८ वर्षीय मोहम्मद साहिद रहेका छन् । उनीहरू सबै भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । अपहरणको उद्देश्य, पक्राउ परेका व्यक्तिहरूको आपसी सम्बन्ध तथा यसअघि पनि यस्ता घटनामा उनीहरूको संलग्नता रहेको वा नरहेको विषयमा समेत अनुसन्धान केन्द्रित गरिएको प्रहरीको भनाइ छ ।
नेपालको मुलुकी अपराध संहिता, २०७४ अनुसार अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुर गम्भीर फौजदारी अपराध मानिन्छ । फिरौती माग्ने उद्देश्यले गरिने अपहरणमा संलग्न व्यक्तिलाई कसुरको प्रकृति र परिस्थितिअनुसार कैद तथा जरिवानाको व्यवस्था गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्